उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाइने, सभामुख नेकपाबाटै

डिसी नेपाल
२९ असोज २०७६ ७:२८

काठमाडौं। संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको सभामुख पदका लागि नेकपाभित्र नेताहरुबीच दौडधुप सुरु भएको छ।

महत्वपूर्ण मानिने सभामुख प्रधानमन्त्री केपी ओलीले आफ्ना विश्वास पात्रलाई बनाउन चाहेका छन्। संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने उल्लेख भएपनि सत्तारुढ दल नेकपाले सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएको छ।

रिक्त रहेको सभामुखको पदमा नेकपाले आफ्नै पार्टीबाट उम्मेद्वार खडा गर्ने तयारी गरिरहेको छ। त्यसका लागि नेकपाले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न नलगाएर मन्त्री बनाउने तयारी गरेको स्रोतले जानकारी दियो।

संविधानमा सभामुख र उपसभामुख एउटै दलको हुन नहुने प्रावधान छ। यस्तो अवस्थामा नेकपाले सभामुख र उपसभामुखमध्ये एक पदमा पाउँछ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका छन्। मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्का भएपछि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने स्रोतको दाबी छ।

तर नेकपा सभामुख पद गुमाउन चाहँदैन। त्यही भएर वर्तमान उपसभामुखलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने र सभामुख नेकपाबाटै बनाउने विषयमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीच छलफल भएको स्रोतले जनाएको छ। नेकपाले सभामुख आफूँसँग राख्ने हुँदा उपसभामुख पद भने गुमाउनुपर्ने हुन्छ।

यद्यपी नेकपाका एकथरी नेताहरुले भने सभामुखमा दाबी गर्न नेकपालाई केहीले पनि नरोक्ने बताउँदै आएका छन्। उनीहरुले उपसभामुखले एमालेबाट उम्मेद्वारी दिएको र अब सभामुखमा नेकपाका तर्फबाट उम्मेद्वारी हुने भन्दै एउटै दलको उम्मेद्वार भन्न नमिल्ने तर्क गर्दै आएका छन्।

कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्कालीन नेकपा एमालेबाट उम्मेद्वारी दिएका थिए।

एमाले र माओवादी मिलेर नेकपा गठन भइसकेको अवस्थामा उपसभामुखलाई अब नेकपाको भनेर ब्याख्या गर्न नमिल्ने भन्दै नेकपाका एकथरी नेताले तर्क गरेपनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच उपसभामुखलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने, उपसभामुख अर्कै दललाई लिने र सभामुख नेकपाबाटै बनाउने गरी छलफल अगाडि बढेको छ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका छन्। मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्का भएपछि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *