वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् : प्रचण्ड

डिसी नेपाल
२९ असोज २०७६ १३:१९

काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डले सात दशकदेखिको नेपाली जनताको चाहना संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि चुनौती दिन नसक्ने दाबी गरेका छन्।

बुधबार सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान व्यवस्था जनचाहना अनुसार आएकाले यो व्यवस्थालाई कसैले पनि चुनौती दिन नसक्ने बताएका हुन्।

‘अहिलेको परिवर्तन सात वर्षदेखिको जनताको चाहना हो,’ उनले भने, ‘यो परिवर्तनलाई कसैले पनि चुनौती दिन सक्ने अवस्था छैन। वर्तमान संविधान, व्यवस्था र विकासको नारामा संसदमा प्रतिनिधित्व गर्ने सबै दल एकमत छौं।’

प्रचण्डले संविधान जारी भएपछि तीन तहको निर्वाचन पूरा भइ मुलुक स्थिरतातर्फ अगाडि बढेको र योबीचमा आफूहरुले ऐतिहासिक काम गरेको दाबी गरे।

संविधानले निर्देशित गरेको समाजवाद उम्मुख समाजतर्फ सरकार अगाडि बढिरहेको दाबी गर्दै प्रचण्डले सरकारले गत वर्ष थुप्रै ऐन कानुन बनाएको, अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने काम गरेको र अब बिकासको मार्गमा सरकार अग्रसर भएको दाबी गरे।

प्रचण्डले सरकारले अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्बन्धलाई थप सुदृढ पारेको पनि बताए। भारतसँग पेट्राेलियम पाइपलाइनको उद्घाटन गरिएको र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले दुवै मुलुकबीच विश्वासको वातावरण निर्माण भएको उनको भनाइ थियो।

उनले चीनसँग भएका नयाँ सहमति र सम्झौताले नेपालको भविष्य उज्वल भएको जिकिर गरे। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन सहयोग गर्ने बताएको उल्लेख गर्दै त्यसले मुलुक नयाँ चरणमा प्रवेश गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *