अब कप्तान को?

डिसी नेपाल
२९ असोज २०७६ १६:०३

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएपछि अब नयाँ कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ। पारसले विगत १० वर्षदेखि नेपाली क्रिकेटको नेतृत्व सम्हालिरहेका थिए। अब त्यो नेतृत्व कसले गर्छ भन्ने बहस उनको राजीनामा सँगै शुरु भएको हो।
सामाजिक सञ्जालमा विभिन्न नामहरुमा चर्चा भइरहेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने पारसलाई बुधबारमात्र राजीनामा फिर्ता लिन आग्रह गरिसकेका छन्। यद्यपी पारसले मंगलबार राजीनामा फिर्ता नलिने बताएका थिए।

अब नयाँ कप्तानको खोजी हुँदा मुख्य गरी २ नाममा चर्चा हुने सम्भावना छ। ती नाम हुन् –ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी।

कप्तान बन्नका लागि प्लेइङि ११ पर्नमा नियमित पर्ने खेलाडी हुनुपर्छ। साथमा नेतृत्व कौशल पनि। यसरी हेर्दा मल्ल र ऐरी दुबैजना नियमित टिममा पर्ने खेलाडी हुन्। अनुभवका हिसाबले मल्लको पल्ला भारी छ। मल्लले पारसको अनुपस्थितिमा नेपाली टिमको नेतृत्व गरिसकेका छन्। लामो समय उपकप्तानको जिम्मेवारी पनि पूरा गरेका छन्।

अनुभव मल्लको पक्षमा जान्छ। तर, कप्तानको दौडमा ऐरी पनि कम छैनन्। यू १९ को कप्तानी गरेको अनुभव उनीसँग छ। साथमा घरेलु फ्रेन्चाइज लीगमा उनले कप्तानी पनि गरिरहेका छन्। र हाल उनी नेपाली टिमको उपकप्तानसमेत छन्। साथमा उनी हालको नेपाली टिममा पारसपछि सबैभन्दा प्रतिभाशाली खेलाडीका रुपमा स्थापित छन्। मध्यक्रमको ब्याटिंग लाइन दिपेन्द्रमाथि नै निर्भर हुने गर्छ।

उनको ब्याटिंग प्रतिभा र उनको उमेरले दिपेन्द्रलाई कप्तानको दौडमा बलियो बनाएको छ। उनको पक्षमा जाने अर्को र सबैभन्दा बलियो पक्ष हो क्यानको वर्तमान नेतृत्व। जनवरी २४, २००० मा जन्मिएका दिपेन्द्रको घर सुदुरपश्चिम प्रदेश हो। र क्यानको वर्तमान अध्यक्ष चतुरबहादुर चन्द पनि सुदुरपश्चिम प्रदेशको बैतडीका हुन्।

प्रतिभा, अनुभव र उमेरसँगै क्यान नेतृत्वसँगको भौगोलिक निकटताले क्यानले उनलाई कप्तानीको जिम्मेवारी दिने सम्भावना पनि छ। २००९ मा पारस कप्तान बन्दा उनको उमेर पनि २२ वर्षको थियो। युवा उमेरमै नेपाली टिमको नेतृत्व गरेका पारस नेपालका सबैभन्दा सफल कप्तान र क्रिकेटर हुन्। यस्तै अवसर पाउने अवस्थामा दिपेन्द्र पुगेका छन्। दिपेन्द्र पनि पारस जस्तै अलराउण्डर हुन्। आवश्यकताअनुसार मिडियम पेस र अफ ब्रेक बलिंग गर्न सक्छन् दिपेन्द्रले। र पारसले पनि आवश्यकताअनुसार मिडियम पेस र अफ ब्रेक बलिंग पनि गर्छन। यसले दिपेन्द्र पारसमा समानता देखाउँछ।

क्यान अध्यक्ष चन्दसँग डिसी नेपालले आगामी कप्तान को हुन्छ भन्ने प्रश्न गर्दा उनको उत्तर थियो, ‘पासरको औपचारिक राजीनामा नै आएको छैन। तै पनि क्यानको बैठक बसेर निर्णय गर्छ।’

उता पूर्व कप्तान राजु खड्काले भने लेग स्पीनर सन्दीप लामिछानेलाई कप्तान बनाउनुपर्ने वकालत गरेका छन्। उनले ट्वीट गर्दै सन्दीपलाई कप्तान बनाए नेपाली क्रिकेटले स्पोन्सरसमेत पाउन सक्ने प्लस परवाइन्ट देखाएका छन्। राजु खड्काकै एकेडमीबाट सन्दीपले नेपाली क्रिकेट टिमसम्मको यात्रा गरेका हुन्। सन्दीपले घरेलु फ्रेन्चाइज टि ट्वान्टी लिगमा आफ्नो टिमको कप्तानी गरेका थिए तर, सफल भने हुन सकेका थिएनन्। यू १९ मा सन्दीपबाट कप्तानी खोसेर दिपेन्द्र सिंह ऐरीलाई दिइएको थियो।

त्यसो त कप्तानका लागि सोमपाल कामी र शरद भेषवाकरको नाम पनि चर्चामा छ। घरेलु क्रिकेटमा सबैभन्दा सफल कप्तान देखिएका भेषवाकरको पछिल्लो समय खेल खस्कँदै जानु उनको कमजोर पक्ष देखिएको छ। सोमपाल भने कप्तानको अर्को बलियो दाबेदार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *