बिपी कोइराला क्यान्सर अस्पतालमा मङ्सिर १ गतेदेखि ईएचएस सुरु

डिसी नेपाल
२९ असोज २०७६ १७:१४

काठमाडौं । पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ। शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार साँझ ४ः३० बजेबाट विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराइने छ। काठमाडौँका सिभिल र गङ्गालाल अस्पताजस्तै नमूना सेवा प्रदान गरिने आचार्यले जानकारी दिए।

जसबाट बिरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने जनाइएको छ।रेडियोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलब्ध गराइने भएपनि अरु सेवामा केहि बढी शुल्क लाग्ने छ।

यद्यपि निजीको तुलनामा निकै सस्तोमा बिरामीले उपचार पाउने आचार्यको भनाइ छ। अस्पताल स्थापनाका समयमा चिकित्सक कर्मचारीलाई आकर्षक भत्ता उपलब्ध गराइ बाहिर काम गर्न नपाउने व्यवस्था गरिएको थियो।

पछि भत्तामा केही कम गरी बाहिर काम गर्न छुट दिइएको थियो। त्यसकै नाममा अस्पतालका चिकित्सक र कर्मचारीले बिरामी बाहिर पठाउने गरेको आरोप लाग्ने गरेको थियो। आचार्यले विस्तारित सेवा अस्पतालमा शुरु भएपछि साँझमा पनि बिरामी बाहिर जानुनपर्ने बताए।

विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीले अतिरिक्त रकम पाउने छन्। बिरामीबाट लिइने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलब्ध गराइने छ। झण्डै तीन वर्षअघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो।

पछिल्ला समयमा सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ। २० वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन्।

गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन्। जसमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ।

एक सय शैयबाट शुरु भएको अस्पतालमा हाल ४५० शैया रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *