नेकपाका सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी
काठमाडौं। प्रतिनिधिसभामा तत्कालीन एमालेबाट विजयी सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले सांसद गुरुङलाई पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय दोलखाले यही असोज ८ गते पक्राउ पुर्जीको म्याद तामेल गरेको छ।
जिल्ला अदालत काठमाडौंमा विरध्वज खड्काले दिएको जाहेरीअनुसार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो। गुरुङमाथि ज्यान मार्ने उद्योगमा उजुरी परेको छ। यो मुद्दा चालु अवस्थामा रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गुरुङसहित मिन बहादुर तामाङ्ग, कारसाङ्ग भन्ने कर्ण तामाङ्ग, उर्मिला थामी, जीवन तामाङ्ग र सागगर तामाङ्गका नाममा पनि पक्राउ पुर्जी जारी भएको हो।
२०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । त्यसबेला पनि गुरुङ सांसद नै थिए । गुरुङ मंसिर ०७४ मा दोलखाबाट संघीय संसद्मा पुनः निर्वाचित भए ।
Facebook Comment