उपसभामुखले राजीनामा नदिए के हुन्छ?

डिसी नेपाल
३० असोज २०७६ ७:१४

काठमाडौं। यौन दुव्र्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि नयाँ सभामुखको विषयलाई लिएर चर्चा परिचर्चा हुन थालेका छन्।

सत्तारूढ दल नेकपाले सभामुख पदमा आफ्नै पार्टीबाट प्रतिनिधित्व गराउने तयारी थालेको छ। सभामुख र उपसभामुख एउटै दल र लिंगको हुन नमिल्ने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा मागेर भए पनि सभामुखमा आफ्नै पार्टीबाट प्रतिनिधित्व गराउने तयारी थालेको हो।

उपसभामुख तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भएकी थिइन्। उनी पदमा रहँदा सत्तारूढ दल नेकपाले सभामुखमा दाबी गर्न संवैधानिक कठिनाइ हुने भएपछि राजीनामा मागेर सभामुखमा आफ्नै पार्टीबाट प्रतिनिधित्व गराउने तयारीमा नेकपाका शीर्ष नेता जुटेका छन्।

नेकपा स्रोतका अनुसार तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन लगाएर सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामाका लागि दबाब बढाउन पार्टी भित्रैबाट मन्त्री बनाइदिने प्रस्ताव आउन थालेको स्रोतको दाबी छ। ‘उहाँ (उपसभामुख तुम्बाहाङ्फे) लाई राजीनामा दिएर सभामुख चयनको प्रक्रिया सहज बनाउन आग्रह गरिएको छ । बरु उहाँलाई कुनै एक मन्त्रालयको जिम्मेवारी दिने विषयमा कुरा अघि बढेको छ’, स्रोतले भन्यो।

उपसभामुखले राजीनामा दिएको अवस्थामा सभामुख र उपसभामुख दुवै पदका लागि निर्वाचन गर्नुपर्ने हुन्छ। सभामुख पदमा सत्तारूढ दल नेकपाले दाबी गरेमा उपसभामुख पदमा अर्को दलबाट प्रतिनिधित्व हुनेछ। यसअघि, तत्कालीन माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुखमा उम्मेदवार बनाएका थिए। पार्टी एकता भइसकेको अवस्थामा अब नेकपाले एउटा मात्र पद पाउने छ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेको स्रोतले बतायो। उनले सभामुख पद रिक्त भएकाले रिक्त पदमा प्रक्रियाअनुसार पदपूर्ति हुने विश्वास व्यक्त गरेकी छन्। आफूले राजीनामा दिनुपर्ने कारण नभएको उनको तर्क छ।

उनले उपसभामुख भइसकेपछि आफू पार्टीको कार्यकर्ता नरहेको दाबी गर्दै पार्टीले माग्दैमा राजीनामा नदिने अडान राख्दै आएकी छन्।
स्रोतका अनुसार आइतबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो धारणा राखेकी छन्। उनले प्रधानमन्त्रीसँग आफूले राजीनामा नदिने अडान राखेको स्रोतले जनायो।

नेकपाको अब बस्ने सचिवालय बैठकले सभामुख चयनका बारेमा आवश्यक निर्णय गर्ने बताइएको छ । सभामुख चयनका लागि यसअघि ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *