हाम्रै कारणले गणतन्त्र खतरामा त पर्दैन ? : प्रचण्ड

डिसी नेपाल
३० असोज २०७६ १२:४०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले अहिलेको व्यवस्थालाई कसैले पनि हल्लाउन नसक्ने बताएका छन्। बिहीबार चितवनमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले वर्तमान व्यवस्थालाई कसैले हल्लाउन नसकेपछि आफैं कारणले व्यवस्था कमजोर हुने अवस्था आएको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कसैले हल्लाएर हल्लिँदैन। तर के विचार गर्नुपर्छ भने हामी आफैंले ल्याएको परिवर्तनलाई रक्षा गर्न र कार्यान्वयन र जनताले सकारात्मक अनुभूति गर्ने गरी हामीले कत्तिको काम गरेका छौं,’ उनले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा हामी गम्भीर हुनुपर्छ। हामी आत्मकेन्द्रित र व्यक्तिवादी हुँदै गएका त होइनौं।’

प्रचण्डले पछिल्लो समय नेता तथा कार्यकर्तामा अराजकता देखिएको उल्लेख गर्दै अनुशासन कमजोर हुँदै गएको उल्लेख गरे। उनले पछिल्लो समयमा भएका निर्वाचनमा पार्टीभित्रै नेता कार्यकर्ताबीच एकता नहुँदा दुई तिहाइ बहुमत ल्याएको पार्टीका उम्मेद्वारसमेत पराजित हुनुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाए।

उनले आफूहरु सानो शक्तिबाट आज दुई तिहाइ बहुमतको सरकार गर्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले आफूहरुले देश र जनताका लागि त्याग र तपस्या गरेको, दुख गरेको, त्याग गरेको र धेरै अप्ठेरोसँग जुधेर निष्ठाको राजनीति गरेर जनताको मन जितेको उल्लेख गरे। आफ्नो पार्टीलाई जनताले माया गरेपनि जनताले सोचे अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो।

उनले कम्युनिष्ट पार्टी सरकार बाहिर हुँदा जस्तो सुकै त्याग गर्न तयार हुने तर सत्तामा पुगेपछि जनतासँग गरिएका प्रवितद्धता बिर्सिँदै जाने अवस्था देखिएको उल्लेख गर्दै भने–पछिललो समयमा पार्टीभित्र अराजकता, व्यक्तिावादी चरित्र हावी हुन थालेको छ। यसले हामीलाई जनताबाट टाढा पुर्याँदैछ।’

सबै राजनीतिक दल मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक दलले एकताको प्रतिवद्धता जनाएको उल्लेख गर्दै प्रचण्डले वर्तमान व्यवस्था कसैका कारणले भन्दा पनि आफूहरुकै कारणले धरापमा पर्ने त होइन भन्दै प्रश्न गरे।

‘कम्युनिष्ट पार्टी सरकारमा पुगेपछि जनताको दुख बिर्सिने र जनतााट अलग्गिँदै जाने र त्यसपछि प्रतिक्रान्ति भएको विश्वका विभिन्न कम्युनिष्ट मुलुकमा देखिएको छ,’ उनले भने, ‘ अराजकतावादी, व्यक्तिवादी सोचका कारण कम्युनिष्ट पार्टी सकिएका इतिहास छन्। अब हामीहरु पनि सुध्रिनुको विकल्प छैन।’

जनताले माया गरेर कम्युनिष्ट पार्टीको पोल्टामा मत दिएको उल्लेख गर्दै प्रचण्डले चुनाव भएको डेढ वर्षको अवधिमा पार्टीभित्र अराजकताले अस्तव्यस्त भएको जस्तो देखिएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *