सकियो आधा वर्ष, ‘स्टारडम’ होइन् ‘कन्टेन्ट’नै बिक्यो

डिसी नेपाल
३० असोज २०७६ १३:५८

काठमाडौं। आजदेखि असोज महिना सकिँदैछ। यो महिनाको अन्त्यसँगै वर्षका ६ महिना सकिँदैछन्। वि.स.२०७६ सालको ६ महिना नेपाली फिल्मका लागि कस्तो रह्यो यहाँ चर्चा गर्न खोजिएको छ। सर्वप्रथम छ महिनामा कुन–कुन नेपाली फिल्म रिलिज भए? त्यो हेरौं।

बैशाख ६ गते वर्षको पहिलो शुक्रबार कुनै नेपाली फिल्म रिलिज भएनन्। कारण, गतवर्षको चैत ३० गते फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ रिलिज भएका थिए।

त्यस्तै बैशाखमा ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आयो। ‘कालो वर्ष’, ‘दाल भात तरकारी’, ‘पसिना’ बैशाखमा रिलिज भए।
त्यस्तै जेठमा ‘जात्रै जात्रा’, ‘वीर विक्रम २’ ‘काउसो’, ‘कप्स’, ‘कुम्भ करण’, ‘यो रेश जिन्दगीको’, ‘प्रेमदिवस’ र ‘झट्का’ गरि ८ नेपाली फिल्म रिलिज भए। असारमा ‘आप्पा’, ‘कीर्तीपुर’, ‘सानो मन’ र ‘बदला’ रिलिज भए।

साउनमा ‘घर’, ‘सुपरगोर्खे’, ‘एकलव्य’, ‘यता न उता’, ‘रातो गलबन्दी’, ‘रे’, ‘काँचुली’, ‘साईनो’ र ‘हजार जुनीसम्म’ रिलिजमा आए।
यसैगरी भदौमा ‘जाइरा’, ‘मारुनी’, ‘सोँच’, ‘पासवर्ड’ र ‘हिरो नंं १’ रिलिज भए भने असोजमा ‘कबड्डी कबड्डी कबड्डी’, ‘रातो टीका निधारमा’, ‘काले दाई’, ‘शिवम’ र ‘छ माया छपक्कै’ रिलिज भए। यसरी हेर्दा ६ महिनामा ३४ नेपाली फिल्म रिलिज भएको देखिन्छ।

यीमध्ये जेठमा रिलिज भएको प्रदिप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ दर्शकलाई हलसम्म तान्यो। ५१ मनाउँदै यो फिल्मले निर्मातालाई राम्रै नाफामा लग्यो। त्यसयता हलमा दर्शक तान्न असोज महिना नै कुर्नुपर्यो।

असोजको शुरुमा प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले दर्शकले हलसम्म तान्यो। यस फिल्मले निर्मातालाई राम्रै नाफा दिलायो। त्यस्तै गत शुक्रबारबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ले बक्स अफिसमा बम्पर ब्यापार गरिरहेको छ।

६ महिनाको अवधिमा स्टार कलाकारका आशातीत फिल्म नै चिप्लिए। हरिवंश आचार्य–मदनकृष्ण श्रेष्ठकै मल्टिस्टारर फिल्म ‘दात भात तरकारी’ले आशादित व्यापार गर्न सकेन्। दर्शकमाझ राम्रो स्टारडम भएकी साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘मारुनी’, ‘रातो टीका निधारमा’को व्यापार कमजोर रह्यो। ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको फिल्म ‘हजार जुनी सम्म’पनि दर्शकलाई रिझाउन सकेन्।

न त सफल फिल्म ‘वीर बिक्रम’को सिक्वल ‘वीर बिक्रम २’ ले नै दर्शकलाई हलसम्म तान्ने ल्याकत राख्यो। नम्रता श्रेष्ठ अभिनित ‘जाइरा’ पनि नराम्रोसंग चिप्लियो।

यहाँ के देखिन्छ भन्ने नेपाली फिल्ममा स्टारडम बिकेन्। आयातीत कथा र विषयवस्तु विकेन्। बिक्यो त आफ्नै मौलिक कथा। ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ तीनवटै फिल्म नै त्यसका गतिलो उदाहरण हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *