नेपाल र म्यान्मा संस्कृति, पर्यटन विषयमा मिलेर अघि बढ्ने छन्ः परराष्ट्रमन्त्री

डिसी नेपाल
३० असोज २०७६ २०:२५

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएका परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष लामो दौत्य सम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताएका छन्।

राष्ट्रपति भण्डारीको गणतन्त्र म्यान्मा सङ्घका राष्ट्रपति विन मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँगको भेटपछि रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधिसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस भ्रमणले सम्बन्धलाई अझ उच्च बनाउने विश्वास व्यक्त गरे।

म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरसँग भेटमा जलवायु परिवर्तन, पर्यटन, अन्तरराष्ट्रिय मञ्चहरुमा सहकार्य, व्यापार र लगानी विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले विकासको उस्तै गतिबाट गुज्रेका दुई देशबीच सहकार्यका अनेकौँ विषय हुन सक्ने भएकाले आगामी दिनमा मिलेर अगाडि बढ्ने समझदारी भएको स्पष्ट गरे।

“सांस्कृतिक विषयमा आदानप्रदान गर्ने, दुवै देशका सांस्कृतिक सम्पदा विश्वमा परिचित गराउने, भ्रमण टोलीहरुको आदानप्रदान गर्ने तथा संस्कृतिहरुको रक्षाका लागि मिलेर काम गर्ने विषयमा छलफल भयो”, उनले भने।

संस्कृति, पर्यटन जस्ता विषयमा सहकार्य अझ बढ्ने विश्वास पनि उनले व्यक्त गरे। नेपाली मूलका म्यान्माली उल्लेखनीय रुपमा म्यान्मामा रहेको र तिनले म्यान्माको अर्थतन्त्र तथा अन्य बहुपक्षीय विषयमा सम्बद्र्धन गर्न योगदान गरेको पनि उनले स्मरण गरे।

वर्षेनी करीब ४५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेको र लुम्बिनी पनि तिनको गन्तव्य बनेकामा सन्तोष व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण पूरा भएपछि म्यान्मालीको पहिलो गन्तव्य बुद्ध जन्मभूमि लुम्बिनी बन्ने विश्वास व्यक्त गरे।

म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरले नेपाल भ्रमण वर्षलाई सघाउन सकभर नियमित र त्यसो हुन नसकेमा व्यावसायिक तथा धेरैभन्दा धेरै चार्टर उडान गरिने विश्वास दिलाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *