थाईल्याण्डमा नेपाली महिला भलिबल टिमको जित
काठमाडौं । मैत्रीपूर्ण भलिबल खेलमा नेपालको राष्ट्रिय महिला भलिबल टिमले जित निकालेको छ । थाईल्याण्डमा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई हराएको हो ।
नेपालले पहिलो खेलमा बैंकक युनिभर्सिटीसंग प्रतिस्पर्धा गर्ने तय थियो । तर प्राविधिक कारणले युनिभर्सिटीको टिम उपलब्ध हुन सकेन । सोही कारण नेपालले स्थानीय जरानसानिवाङसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको प्रशिक्षक जगदिश भट्टले जनाएका छन् ।
थाईल्याण्डको टिमलाई नेपाली महिला टिमले ३–१ को सेटमा हराएको हो । पहिलो सेट २५–१५ ले जितेको नेपालले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछि लगातार दुई सेटमा नेपाल विजयी भएको थियो । तेस्रो सेट २५–१६ ले जितेको नेपालले चौथो सेटमा २५–१९ को जित निकालेको थियो ।
बैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाईल्याण्ड गएको नेपालले ७ खेल खेल्नेछ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग र बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन भलिबलका लागि मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको हो ।
थाईल्याण्डको भ्रमण लगत्तै नेपाल एभिसी सेन्ट्रल जोनमा सहभागी हुन बंगलादेश जानेछ ।
Facebook Comment