टी–ट्वान्टी विश्वकप छनोटः आयरल्याण्ड, नेदरल्याण्ड र ओमानको विजयी सुरुवात

डिसी नेपाल
२ कार्तिक २०७६ ६:११

एजेन्सी । आयरल्याण्ड र नेदरल्याण्डले युएईमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटमा विजयी सुरुवात गरेका छन् । दुबईमा शुक्रबार हङकङलाई ८ विकेटले हराउँदै आयरल्याण्डले सुखद सुरुवात गरेको हो ।

हङकङले दिएको १५४ रनको लक्ष्य आयरल्याण्डले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । आयरल्याण्डको जितमा एन्डी बल्ब्रिनेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पाउल स्ट्रीलिङले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी टेक्टरले अविजित २१ रन बनाए । हङकङका अजिज खानले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५३ रन जोडेको थियो । हङकङका किन्चित शाहले ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरुन अर्सादले २० रन बनाए । आयरल्याण्डका मार्क अडिअरले २ विकेट लिए ।

यस्तै अर्को खेलमा नेदरल्याण्डले केन्यालाई ३० रनले हराएको छ । नेदरल्याण्डले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । केन्याका कोलिन्स अबुयाले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै राकिप पटेलले २६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरेनले ३ तथा फ्रेड क्लासेनले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । नेदरल्याण्डको लागि म्याक्स ओुडोडले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बेन कोपरले ३६, पिटर शेलरले अविजित २४ तथा भान डेर मेर्वीले अविजित २१ रन जोडे । केन्याका कोलिन्स अबुयाले २ विकेट लिए ।

हिजो नै भएको अन्तिम खेलमा ओमानले यूएईमाथि सहज जित निकालेको छ। अबुधाबीमा भएको खेलमा ओमानले ७ विकेटको जित हात पारेको हो। यूएईले दिएको १०८ रनको लक्ष्य ओमानले १८.२ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा गरेको थियो।

सन् २०२० मा आयोजना हुने टी–ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *