एशियाली मुलुकहरुलाई पूर्वीय दर्शनबाट एशियाको विकासमा योगदान गर्न परराष्ट्रमन्त्रीको आग्रह

डिसी नेपाल
२ कार्तिक २०७६ २२:५५

म्यान्मा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन्।

म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यान्मा नेपाल मैत्री र व्यवसायका अवसर’ विषयको विचार गोष्ठीमा उनले म्यान्मा र नेपालले तिनीहरुले संयुक्त राष्ट्र सङ्घ, असङ्लग्न आन्दोलन, जी ७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तरराष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिए।

उनले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं सांस्कृतिक सम्बन्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले म्यान्माले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा)ले अन्तरराष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गरे।

नेपाल र म्यान्मा दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब आठ करोड जनसङ्ख्या रहेको बताउँदै उनले दुवै राष्ट्र ठूलो बजार हुन सक्ने औँल्याए।

नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यान्माका उद्योगी व्यवसायीलाई म्यान्मामा लगानी गर्न आग्रह गरे।

नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उहाँले विकासोन्मुख मुलुक भएकाले केही अन्तरराष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिए।

गैर आवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने, प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यान्मा नेपाल हवाइ उडान मिलाउन सकिने बताए।

सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल म्यान्मा सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिए।

उनले विद्यालयहरुमा इतिहास विषय अध्ययनअध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुपर्ने पनि बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *