एक तानाशाहको कथा जस्ले हात धुन अल्कोहल प्रयोग गर्थे
नयाँ दिल्ली (बीबीसी) । धेरै मानिसहरु सायद विश्वास नगरुन ६० को दशकमा रोमानियामा निकोलस चाचेस्कूले लगातार २५ वर्षदेखि आफ्नो देशका सञ्चार माध्यमलाई आवाज निकाल्न दिएनन्मात्र खान, पिउन, तेल र यहाँसम्मकी औशधीमा पनि कडाई गरे ।
नतिजा यो भयो हजारौं मानिसहरु विरामी र भोकमरीका शिकार भए । र त्यसमा उनका खुफिया प्रहरी ‘सेक्योरिटेट’ले लगातार आम मानिसहरु निजी जीवनमा के गरिरहेका छन् भन्ने निगरानी गरिरहे। चाचेस्कूलाई पूरा रोमानियामा ‘कंडूकेडर’का रुपमा चिनिन्थ्यो जसको अर्थ ‘नेता’ हुन्छ । उनकी श्रीमती एलीनालाई राष्ट्रमाताको उपाधि दिइएको थियो ।
आफ्नो छायाँसँग पनि डराउँथे रोमानियाका मानिस
रोमानियाका लागि भारतका राजदूत रहिसकेका राजीव डगोराले आफु त्यहाँ जाँदा चाचेस्कू मरेको १० वर्ष भइसक्दा पनि त्यहाँका मानिसहरुमा उनको आतंक बाँकी रहेको बताए । उनी स्मरण गर्छन्, ‘जब म आफ्नो पद सम्हाल्न रोमानिया पुगेँ, त्यहाँ मैले देखेँ मानिसहरु आफ्नो छायाँसँग पनि डराउँथे। उनी सडकमा हिँड्दा पछाडि फर्केर हेर्थे।’
घरका झ्या खुला राख्न निर्देशन
एक रोमानियाली महिला कार्मेन बुगानका बाबु चाचेस्कूका विरोधी मध्ये एक थिए । खुफिया प्रहरीले १० मार्च, १०८२ मा उनको गाउँको घरमा छापा मार्यो र आगामी पाँच वर्ष उनको परिवारले के गर्यो त्यसको निगरानी गरियो । घर भित्र उनको परिवारले के के बोल्थ्यो त्यो पनि रेकर्ड गरियो।
कार्मेन बुगानले बीबीसीलाई भनिन्, ‘जब म विद्यालयबाट फिर्ता घर आएँ, मैले मेरा पूरा घरमा प्रहरी रहेको देखेँ। उनीहरुले मेरो पूरा घरमा खुफिया माइक्रो फोन लगाए। उनीहरु मेरा बाबुआमाको चुरोट खाइरहेका थिए। आफै कफी पनि बनाइरहेका थिए। त्यो बेला मलाई थाहा थिएन। तर पछि थाहा भयो मेरा बुबाले कारबाट बुखारेस्टमा चाचेस्कूविरुद्ध पर्चा बाँडेका थिए। मेरा बुबा त्योबेला भूमिगत थिए, आमा अस्पतालमा थिइन्। उनीहरुले मेरो घरको सबै खानेकुरा लिए। म तीन महिनासम्म पानीमात्र पिएर बाचेँ।’
कार्मेन भन्छिन्, ‘हामीलाई जति चिसो भए पनि घरका झ्याल खुला राख्न निर्देशन दिइएको थियो। म विद्यालय जाँदा एक खुफिया एजेन्ट मसँगै जान्थे।’
ठूलो तस्वीर नदेखाउ आदेश
होचा कदका चाचेस्कू मात्र ५ फीट ४ इन्च थियो। यसैले पूरा रोमानियाका फोटोग्राफरहरुलाई आफ्नो ठूलो फोटो देखाउन सकिनेमात्र तस्वीर खिच्न भनेका थिए । ७० वर्ष उमेर पुगे पनि उनको त्यहि तस्वीर छापिन्थ्यो जो ४० को उमेरमा खिचिएको थियो।
एलीनालाई त उनको नजिकबाट कुनै आकर्षक महिला हिँडेकोसमेत मन पर्थेन। उनी आकर्षक महिलालाई साथमा राखेर तस्वीरसमेत लिँदैन थिइन्। एलीनाले धेरै विषयमा फेल भएपछि १४ वषकै उमेरमा विद्यालय छोडेकी थिइन्। तर रोमानियाको फस्र्ट लेडी भएपछि उनले रसायनमा पीएचडी डिग्री रहेको घोषणा गराइन्। स्पष्ट छ यो डिग्री जाली थियो।
संसारकै दोस्रो ठूलो भवनको निर्माण
चाचेस्कू रोमानियालाई एक विश्व शक्ति बनाउन चाहन्थे। यसका लागि आवश्यक थियो धेरै जनसंख्या। यो उद्देश्य पूरा गर्नका लागि उनले गर्भपतनमाथि प्रतिबन्ध लगाइ दिए। यसै कारण पूरा रोमानियामा सम्बन्ध बिच्छेद गर्न पनि समस्या भयो। किनकी चाचेस्कू आफु छोटो कदका थिए, तर सबै चिज ठूलो मन पराउँथे।
उनले राजधानी बुखारेस्टमा अर्बौ डलर खर्च गरेर ‘पीपुल्स हाउस’ बनाए। जसको हीटिंग र विद्युतको बील आजभोली लाखौं आउँछ। र भवन बनको २५ वर्षपछि पनि यसका ७० प्रतिशत कोठा अझैसम्म खाली छन्। करिब १५ हजार मजदुर यो भवन बनाउन लागेका थिए। उनीहरु तीन सिफ्टमा काम गर्थे। प्रयाः चाचेस्कू यो भवनको अवलोकन गर्न आउँथे। डिसेम्बर १९८९ आउँदा उनी हप्तामा तीनचार पटक आउन थाले।
चाचेस्कूको जीवनी ‘द लाइफ इभिल टाइम्स अफ निकोलाई चाचेस्कू’ लेख्ने जोन स्वीनी लेख्छन्, ‘१५ हजार मजदूरहरुका लागि त्यहाँ एक पनि शौचालय थिएन। यसैल जहाँ मौका मिल्यो त्यहिँ उनीहरु शौच गर्थे। पूरा भवनमा गन्धकी फैलिएको थियो। जब चाचेस्कू आउने खबर आउँथ्यो, मजदूरहरु सो फोहार सफा गर्थे। एक दिन सफा नगिएको क्षेत्रतर्फ चाचेस्कू गए, त्यहाँ मलमा उनको खुट्टा गाडियो पूरै जुत्तामा मल लागेको थियो। यसपछि उनी निकै रिसाय।’
अल्कोहलले हात धुन्थे
स्वीनी अगाडि लेख्छन्, ‘यो देखेर सबै मजदूरहरु हाँस्न थाले। तर जब खुफियाका मानिसहरुले उनीहरुमाथि कडा नजर लगाए उनीहरु चुप भए। खुफिया प्रहरीका एक जवानले चाचेस्कूको जुत्तामा लागेको फोहोर सफा गरे। कल्पना गर्नुहोस चाचेस्कूको अवस्था के भयो होला जसको सफाइप्रति यति दीवानगी थियोकी इन्फेक्शनबाट बच्न एक दिनमा बीस पटक आफ्ना हात अल्कोहलले धुन्थे। पछि खुफिया प्रहरीले यो घटनाको छानविन गर्यो। तर, यसमा को जिम्मेवार थियो भन्ने पत्ता लाग्न सकेन। त्यसैले यो घटना सार्वजनिक हुन नदिन कडा निर्देशन दिइयो।’
सोभियत संघको विरोध
सोभियत क्याम्पमा रहेपनि चाचेस्कू सोभियत संघलाई तनाव दिन मजा आउँथ्यो। यसैले उनले विश्वका सोभियत संघ विरोधी नेताहरुलाई आफ्नो देशमा निमन्त्रणा गर्थे। १९६६ मा उनले चीनका प्रधानमन्त्री चू एन लाई रोमानिया बोलाए र १९६७ मा अमेरिकाका भावी राष्ट्रपति रिचर्ड निक्सन उनका पाहुना बने।
हालै प्रकाशित पुस्तक ‘हाऊ टू बी ए डिक्टेटर’ लेख्ने फ्रांक डिकोटेर लेख्छन्, ‘चाचेस्कूको सबैभन्दा ठूलो क्षण त्यो बेला आयो जब सोभियत संघले साम्यावादका विरुद्ध विद्रोह गर्ने चेकोस्लभाकियामाथि आक्रमण गर्यो।’
बुल्गेरिया, पोल्याण्ड र हंगेरीले सोभियतको समर्थनमा आफ्नो सेना पठाउने बचन दिए, तर रोमानियाले सोभियत संघको समर्थन गरेन।
‘जब प्रागमा सोभियत ट्यांक घुसे, चाचेस्कूले प्यालेस स्कवायरमा एक ठूलो जनसभालाई सम्बाधेन गर्दै लियोनिद ब्रेझनेभको यो कदमको निन्दा गरे र यसलाई एक ठूलो गल्ती भने। उनले यसबाट यूरोपमा शान्तिमाथि खतरा उत्पन्न भएको बताए। यसबाट उनी रातारात हिरो बने।’
जब चाचेस्कू चीन गए त्यहाँको पूरा नेतृत्व विमानस्थलमा उपस्थित भएर उनको स्वागतमा लाग्यो। सडकमा हजारौं बेइजिङवासी महिलाहरुले हात हल्लाएर उनीप्रति आफ्नो सम्मान व्यक्त गरे। बेइजिङको तियानानमन चोकमा उनका लागि ठूलो जिम्न्यास्टिक शो पनि आयोजना गरियो। तर हिटलरको इटालीको पहिलो यात्रा जस्तै चाचेस्कूले यो पत्ता लगाउन सकेनन् चीनको यो उनीप्रतिको भव्यस्वागत देखावटी थियो की वास्ताविक।
चीनबाट फर्केपछि चाचेस्कूले पनि आफ्नो देशमा एक प्रकारको मिनी सांस्कृतिक क्रान्तिको शुरुआत गरे। प्रेस सेन्सरशिप थोरै खुल्ला गरियो। र टेलिभिजनमा केही विदेशी कार्यक्रम देखाउन थालिए। तर, यो छुट संकूचित थियो किनकी चाचेस्कूले स्पष्ट पारेर उनको समाजवादी सरकारमा लेलिनवाद र माक्र्सवादलाई नै प्रमुखता दिइने बताए।
ठूला अक्षरमा नाम
चाचेस्कूले आफ्नो बारेमा कैयौं भ्रान्तिहरु प्रचलित गराए। एक फ्रेन्च जीवनीकार माएकल पियर हेमलेटले लेखेकी उनी अत्यन्त गरिबीमा जन्मिएका थिए र विद्याय खाली खुट्टा जान्थे।
१९७२ मा डोनल्ड क्याचलोभले लण्डनमा उनको जीवनी प्रकाशित गराए, जसलाई चाचेस्कूको मिथक फैलामा अरु सहयोग गर्यो। यो पुस्तकमा लेखिएको हरेक कुरालाई चाचेस्कू आफैले अनुमोदन गरेका थिए। र कति प्रति छाप्ने त्यो पनि उनकै निर्णय थियो।
चाचेस्कूप्रति चापलूसी यतिसम्म बढ्योकी रोमानियाको प्रमुख पत्रिका ‘सिनतिया’ले उनलाई रोमानियाको जूलियस सीजर, नेपोलियन, पीटर महान र लिंकन भनेर सम्बोधन गर्न थाल्यो। उनको ६० औं जन्म दिनमा रोमानिएका एक अन्य राजनेताल कौंसटानटिन पिरभुलेस्कूले उनलाई रोमानियाको इतिहासकै सबैभन्दा लोकप्रिय नेताको संज्ञासमेत दिए।
उनको व्यक्ति पूजा यो हदसम्म बढ्योकी उनको नाम ठूलो अक्षरमा लेख्न थालियो। उनलाई दोस्रो पटक रोमानियाको सबैभन्दा ठूलो नागरिक सम्मान ‘हीरो अफ द सोशलिस्ट रिपल्कि अफ रोमानिया’बाट सम्मान गरियो। यूगोस्लाभियाले उनलाई ‘हीरो अफ सोशलिस्ट लेबर’ सम्मान दियो र अमेरिकाका राष्ट्रपति जिमी कारट र उनकी श्रीमतीले अमेरिकाको व्हाइट हाउसमा भव्य स्वागत गरे।
बकिंघम प्यालेसमा प्रवास
१९७९ मा चाचेस्कू बेलायत गए जहाँ उनी महारानी एलिजाबेथसँगै बग्घीमा बसेर लण्डनका सडकमा घुमे। उनलाई बकिंघम प्यालेसमा राखियो। त्यो बेला त्यहाँ समस्या भयो जब चाचेस्कूलाई दिइने खाने उनका अंगरक्षकले पहिला आफै चाखे।
जोन स्वीनीले आफ्नो पुस्तक ‘द लिफ एण्ड ईभिल टाइम्स अफ निकोलाई चासेस्कू’मा लेखेका छन्, ‘हेर्दा चाचेस्कूको भ्रमण निकै सफल देखिन्थ्यो। किनकी महारानीले उनलाई प्वाइन्ट २७० बोरको एक टेलिस्कोपिक राइफल उपहार दिएकी थिइन् र एलीनालाई सुन र हिराको एक ‘ब्रोच’ उपहार दिएकी थिइन्। बकिंघ प्यालेस त्यो जमानामा र आज पनि आफ्नो शानदान आतिथ्य र मिष्ठान्न खानपानका लागि चर्चित छ। तर, उनीहरुलाई पनि अच्चम लाग्यो चाचेस्कू हरेक व्यक्तिसँग हात मिलाएपछि अल्कोहलले हात धुन्थे।’ चाचेस्कूको स्वीटका तीनै बाथरुममा यसैका लागि अल्कोहलको एक एक बोतल राखिएको थियो।’
बेलायी महारानी बेखुश
स्वीनी अगाडि लेख्छन्, ‘महारानीलाई यो बुझ्न धेरै समय लागेन उनको छत भित्र एक असामान्य मानिस छ। एक दिन बिहान ६ बजे चाचेस्कु आफ्नो टोलीसहित बकिंघ प्यालेसको बगैंचामा घुमेको देखियो। उनलाई डर थियो बकिंघम प्यालेसको कोठमा उनको हरेक कुरा ट्याप गरिएको त छैन। यसैले आफ्नो टोलीसँग कुरा गर्न बगैंचामा आए। संयोगबस महारानी पनि त्यहिबेला बगैंचामा थिइन्। चाचेस्कूलाई देखेर उनी झाडीमा लुकिन्। त्यतिबेलै उनले तय गरिन् रोमानियाको भ्रमणमा उनी जाने छैनन्।’
पिठ्यूँ पछाडि कुरा
चाचेस्कूको व्यक्ति पूजाको अवस्था यस्तो थियो, उनले हरेक पाठ्य पुस्तकको पहिलो पान्नामा उनको तस्वीर राख्नुपर्ने कानून बनाइयो। टेलिभिजनमा एक च्यानलमात्र प्रशारण हुथ्यो। आधा कार्यक्रममा चाचेस्कूको गतिविधि र उपलब्धिमात्र देखाइन्थ्यो।
पुस्तक पसल र म्यूजिक स्टोर्समा उनको भाषणको संग्रह राख्नु आवश्यक थियो। सानो भन्दा सानो निर्णय पनि चाचेस्कूको अनुमति विना गर्न सकिँदैनथ्यो। यहाँसम्मकी सडकको नाम परिवर्तन गर्न पनि उनको अनुमति चाहिन्थ्यो। जब दुई टिमबीच फुटबल म्याच हुन्थ्यो चाचेस्कूकी श्रीमती एलीना तय गर्थिन कुन टिमले जित्छ। र यो टेलिभिजनमा देखाउन वा नदेखाउने निर्णय पनि उनी नै लिन्थिन्।
फ्रान्क डिकोटेर लेख्छन्, ‘बाहिरबाट सबै आफ्नो नेताको गुणगान गर्थे तर भित्रभित्रै उनलाई गाली गर्थे। मैले आफै देखेको थिए, जब कुनै भवनको अवलोकन गर्न चाचेस्कू आउँथे मानिसहरु ताली बजाएर स्वागत गर्थे। तर, जब फर्किन्थे मानिसहरु उनलाई अपशब्दमा गाली गर्थे।’
१२ डिसेम्बर १९८९ को अन्तिम भाषण
१७ डिसेम्बर १९७८ मा रोमानियका सौनिकहरुले तिमिस्वाराका प्रदर्शनकारीमाथि गोली चलाए। यसपछि पूरा देशमा प्रदर्शन शुरु भयो। २१ डिसेम्बर १९८९ मा निकोलाई चाचेस्कूले बुखारेस्टको मध्येमा रहेको पार्टी मुख्यालयको बाल्कोनीबाट एक जनसभालाई सम्बोधन गरे। उनले भाषण दिन शुरु गरेको केही मिनेटमै सिटी बज्न थाले र उनको आलोचना हुन थाल्यो। चाचेस्कूले हात उठाएर मानिसहरुलाई शान्त रहन भने तर, होहल्ला भइरह्यो।
यो देखेर चाचेस्कू वाक भए। उनकी श्रीमती एलीना अगाडि आएर भीडलाई नियन्त्रण गर्ने प्रयासमा लागिन्। तर, भीडलाई कुनै प्रभाव परे। एलीनाले आफ्नो रुखो आवजमा माइकमै आफ्ना श्रीमानलाई न्यूनतम तलब बढाउने घोषण गर्न सुझाव दिइन्। उनले यस्तो घोषणा पनि गरे। तर, भीडमा यसको कुनै प्रभाव परेन। केही समयपछि त्यहाँ भीडन्त शुरु भयो।
क्रान्तिको शुरुआत
यो भाषणलाई टेलिभिजनमा लाइभ प्रशारण गरिएको थियो। जब टेलिभिजनको पर्दा ब्ल्याक भयो हरेकले महसूस गरे क्रान्ति शुरु भइरहेको छ। पूरा देशमा मानिसहरु विरोध प्रदर्शनमा सहभागी भए। हरेक स्थानमा सरकारी भवनहरुमा आक्रमण हुन थाल्यो, चाचेस्कूकका तस्वीरहरु च्यातियो। चाचेस्कूले खुफिया प्रहरीलाई विद्रोह दमन गर्न आदेश दिए। पूरा रात उनीहरुले विद्रोहीमाथि गोली चलाए तर सफल भएनन्।
भाग्ने बेला लिफ्टमा फसे
अर्को दिन सेना पनि विद्रोहमा सहभागी भयो। आक्रोशित प्रदर्शनकारीहरुले पार्टी मुख्यालय घेराबन्दी गर्न शुरु गरे। एलीना र चाचेस्कूले हेलिकोप्टरबाट भाग्नु पर्यो। तर, यहाँ पनि ड्रामा भयो। चाचेस्कू लिफ्टबाट भवनको छततर्फ गए जहाँ हेलिकोप्टर पर्खिरहेको थियो। जोन स्वीनीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘जब चाचेस्कू लिफ्टमा छिरे, उनका सेनाध्यक्ष जनरल स्ट्यानकुलुस्कू कारमा बसेर रक्षा मन्त्रालय गए।
उनले कारबाटै सुरक्षा बललाई आदेश दिएकी भवनको अब रक्षा रोक्नु पर्दैन। जब त्यहाँबाट सैनिक हटे प्रर्दशनकारी भवनमा घुस्न थाले। तर यो कुराको अन्दाज थिएनकी यतिबेलासम्म पनि चाचेस्कू भवनमै छन्। किनकी उनको लिफट्को ढोका जाम भएको थियो। कुनै तरिकाले लिफ्टको ढोका फोडेर चाचेस्कूलाई निकालियो। जब क्रान्तिकारीहरु छतमा पुगे ६ जनालाई लिएर ‘इकूरिऊ’ हेलिकोप्टरले उडान भर्यो। हेलिकोप्टरमा बस्ने ठाउँ नभएकाले चाचेस्कू घुँडा टेकेर बसे।’
क्रूर अन्त्य
पाइलटले हेलिकोप्टरलाई राजधानी बुखारेस्टभन्दा बाहिर एक खेतमा उतारे र चाचेस्कू दम्पत्ति र एक अंगरक्षकलाई त्यहाँ छोडेर हेलिकोप्टर फिर्ता भयो। त्यहि दिन चाचेस्कू र उनकी श्रीमतीलाई पक्राउ गरियो। क्रिसमसका दिन दुबैमाथि एक सैनिक अदालतमा मुद्दा चलाइयो। र मृत्यु दण्डको सजाय सुनाइयो। दुबैलाई एक पर्खालको अगाडि उभ्याइयो। दुबैलाई फरक फरक समयमा गोली हान्ने तय भए पनि एलीनाले दुबै सँगै मर्न चाहेको बताएकी थिइन्।
सैनिकहरुले निशाना लगाए र २५ वर्षसम्म रोमानियामा राज गर्ने निरंकुश तानाशाह निकोलाई चाचेस्कू धराशाई भयो। माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एक पटक ठिक भनेका थिए, ‘मानिसहरु आफ्नो इतिहास आफै बनाउँछन्, तर इतिहास कहिल्यै उनीहरुको इच्छाअनुसार बन्दैन।’
Facebook Comment