सङ्कटमा जुम्लाको सिंजा बहुमुखी क्याम्पस
सुर्खेत । सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन ।
क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन् । स्नातक तहको व्यवस्थापन तथा शिक्षा सङ्काय सञ्चालनमा ल्याएको क्याम्पसमा एकातिर शिक्षक अभाव छ भने अर्कोतर्फ आर्थिक स्रोतको कुनै विकल्प छैन ।
क्याम्पसको आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्थामा सुधार नआउँदा यसको कुनै पनि उन्नति हुन नसकेको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले बताए । “क्याम्पसको आर्थिक स्रोत भनेकै तीनै तहका सरकार, विद्यार्थी भर्ना र परीक्षा शुल्क हो”, उनले भने, “यद्यपि कुनै पनि सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग हुन नसक्दा क्याम्पस विजोग अवस्थामा पुगेको छ।”
सञ्चालक समिति र समुदायको अनुरोधमा विद्यार्थीको भर्ना शुल्क रु पाँच हजार लिने गरिएको क्याम्पस प्रमुख नेपालको भनाइ थियो। आर्थिक स्रोत अभावका कारण आफू स्वयंले पनि प्रतिमहीना रु छ हजार मात्र तलब खानुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।
उनका अनुसार आर्थिक स्रोतको नियमितता नहुँदासम्म क्याम्पसको शैक्षिक तथा संस्थागत विकास हुने अवस्था देखिँदैन। यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष रणबहादुर रोकायाले सङ्घ र प्रदेश सरकारको सहयोग नहुँदा यहाँ अध्यापनरत शिक्षकको तलब व्यवस्थापन गर्न गाह्रो भएको राससलाई जानकारी दिए ।
यहाँको विकासका लागि सरकारी निकायबाट प्राप्त विभिन्न योजनाको कामबाट केही रकम बचाएर गाउँलेले क्याम्पसका शिक्षकलाई तलब खुवाउँदै आएको उहाँको भनाइ थियो। उनका अनुसार सिंजा बहुमुखी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भइसके पनि यहाँको आवश्यकताअनुसार जनशक्ति नभएकाले त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ।
सिंजा गाउँपालिकाले भने गत आव २०७५/०७६ मा रु २९ लाख ७५ हजार र चालू आवमा भौतिक पूर्वाधार विकासमा रु १२ लाख सहयोग गरेको छ।
विकास निर्माणका योजनामा यहाँका नागरिकले काम गरेर शिक्षकलाई पाल्नुपर्ने समस्याले क्याम्पसको अवस्था सङ्कटपूर्ण बन्दै गएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । हाल यो क्याम्पस समुदायमा पूर्ण निर्भर छ।
Facebook Comment