जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै मिडिया हबले उजुरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले पुष्टि गरे ।
उनले डिसी नेपालसँग भने, ‘आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै मिडिया हबले अर्जुन घिमिरे र कुमार कट्टेललगायतका नाममा उजुरी दर्ता गरेको छ । अहिले हामीले दुइटै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’
उजुरीमा जिग्री, पाँडे, बले कक्रोचलगायतका पात्र सबै मिडिया हबले उत्पादन गरेकाले ती पात्र अन्य टेलिश्रृंखलामा प्रयोग नगरियोस् भन्ने माग राखिएको छ । तर, मिडिया हबले आर्थिक क्षतिपूर्तिको भने माग गरेको छैन ।
यसअघि टेलिश्रृंखला ‘भद्रगोल’मा काम गरिरहेका जिग्री–पाँडेको समूहले नयाँ टेलिश्रृंखला ‘सक्किगोनी’ निर्माण गर्न शुरु गरेको छ । जसमा टेलिश्रृंखला ‘भद्रगोल’कै पात्रलाई उतारिएको छ । भने यता मिडिया हबले पनि टेलिश्रृंखला ‘भद्रगोल’को नेपाल टेलिभिजनबाट नियमित प्रशारण जारी राखेको छ ।
‘भद्रगोल’का पात्रहरु ‘सक्किगोनी’मा उतारेपछि ‘भद्रगोल’को लोकप्रियता ह्वात्तै घटेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्रीको) समूहलाई बोलाएको छ ।
Facebook Comment