भारत–पाकिस्तान सीमामा तनाव, दुबैतर्फ सेना मारिए

डिसी नेपाल
३ कार्तिक २०७६ १६:०८

नयाँ दिल्ली (एजेन्सी) । भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा तनाव बढेको छ । जम्मू कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी)मा शनिबार राती दुबैतर्फबाट गोलीबारी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

भारतीय समाचार संस्था आजतकले भारतका दुईजना सैनिक जवान मारिएको र पाँच पाकिस्तानी सेना मारिएको दावी गरेको छ। उता यसको विपरित पाकिस्तानी सञ्चार माध्यम द डान न्यूजले भने एलओसीमा भारतीय सेनाले चलाएको गोली लागेर एक सैनिक र ६ जना सर्वसाधारण मारिएको जनाएको छ। पाकिस्तानी सेनाले सो भीडन्तमा मारिएका आफ्ना एकजना सैनिकको तस्वीरसमेत सार्वजनिक गरेको छ। पाकिस्तानी सेनाले एलओसीमा भारतीय सेनाले आत्मशर्मण गरेको दावी गरेको छ।

दुबैतर्फको गोलीबारीमा मारिएकाहरुको शव लिनका लागि भारतीय सेनाले सेतो झण्डा देखाएको पाकिस्तानीले दावी गरेको छ। पाकिस्तानी सेनाले भारतीय सेनाले सर्वसाधारणलाई लक्षित गरि गोली चलाएको र पाकिस्तानी सेनाले त्यसको जवाफ दिएको दावी गरेको छ।

यता भारतीय सेनाले भने पाकिस्तानी ‘आतंकवादी’ आश्रयस्थलमा कारबाही गरिएको दावी गरेको छ। भारतीय सञ्चार माध्यम आजकतले लीपा उपत्यकाको एलओसी नजिकैबाट पाकिस्तानी सेनाले गोली चलाएको र त्यसमा दुईजना भारतीय सैनिक मारिएको बताएको छ। सुत्रको हवला दिँदै आजतकले भारतीय सेनाले त्यसको जवाफ दिएको बताएको छ। सो कारबाहीमा ५ जना पाकिस्तानी सेना मारिएको दावी गरेको छ।

शनिबार रातीको यो घटनापछि भारत र पाकिस्तानबीच थप तनाव बढ्ने देखिएको छ। पछिल्लो उत्पन्न परिस्थितिबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले सेनाप्रमुखसँग छलफल गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो छलफलमा के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन।

सीमा क्षेत्रमा हुने यसप्रकारका घटनामा भारत र पाकिस्तानले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउने गरेका छन्। भारतीय पक्षले ‘पाकिस्तानी आतंकवादीको घुसपैठका लागि पाकिस्तानी सेनाले गोली चलाएको’ आरोप लगाएको छ भने पाकिस्तानले सर्वसाधारणलाई लक्षित गरि भारतीय सेनाले गोली चलाएको र त्यसको जवाफमात्र दिएको दाबी गरेको छ।

भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेसँगै भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ। यसपछि सीमा क्षेत्रमा दुबैतर्फका सेनालाई उच्च सतर्कतामा राखिएको छ। पाकिस्तानले भारतीय विमानका लागि आफ्नो आकाशसमेत प्रतिबन्ध लगाइदिएको छ। हालै एक भारतीय यात्रुबाहक विमान पाकिस्तानी लडाकु विमानको घेराबन्दीमा परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *