‘नदिया लहर’ सँग मेरो शब्द थुँगा

डिसी नेपाल
४ कार्तिक २०७६ ८:३९

मलाइ थाहा छ रोकिनु हुन्न।
कहिले फराकिलो त कहिले साँघुरो।

हो यँहीबाट शुरू हुन्छ, नदिया लहरको कविताको दर्शन! नदी, नदी भएर अस्तित्वमा रहँदैन, जब बगरमा परिणत हुन्छ, नदिया नदी नै ठहरिन चाहिन्छ जो आफ्नो पहिचानलाई जिवित राख्न र बगर भएर उराठ जिन्दगी बिताउनेलाई आफ्नो शितल नदीको स्पर्शसँगै रंगीन जीवनको अनुभूति दिलाउँछिन् आफ्ना जबर्जस्त काव्य बर्षामार्फत। पानीसँग उनको अनौठो संबन्ध छ, आकाशबाट पानी झर्यो। झरी बगेर नदी हुँदै बिशाल भण्डारको आकारमा महासागर! कस्तो चाहना उनको !

यति धेरै रुझ्न सकू, मेरो प्यास कसैले नदेखुन।
तिर्खाएका प्यासहरु यही वर्षाले मेटिदियोस।

चकमन्न रातमा चन्द्रमालाई साथ लिइ कहाँ कहाँ खोजिन् उनले तारालाई साक्षी राखेर। रातभर आकाश रोइरहँदा थाकेको शरीरसँगै भौताँरिदै प्रेमीसँगको वियोगको वेदनालाई कवयत्रीले यती मिठो शब्दहारले ‘मेरो सपना’ भन्ने कवितामा उनेकी छन्। जसले जो कोही पाठक लाई भाबुक बनाउँछ।

आमा भन्ने शब्द नै काफी छ, ममताको परिभाषाका लागि। यी दुई अक्षर नै सबै हो। बाल्यावस्थामा मातृ वियोगको कठिन पीडा कसलाई बोक्न सजिलो होला? प्रकृतिका हरेक उपजहरुलाई आमाको कल्पना गरेर लेखिएको मेरो आमा भन्ने कविता मार्मिक छ।

अत्यन्तै शसक्त कलमले तिखारेकी छन्। शहरमा सुतेर गाउँ पुगेछु, मिठा सपना देख्दै शहर बस्ने नदियाको आफ्नो माटोप्रतिकोे अगाढ माया प्रिय ताप्लेजुङ कवितामा पोखेकी छन्।

कविता विष्ट

कयौं पोतवारको प्रतिनिधित्व गरेको यो पोतवार कविता गरिखाने श्रमजीबीमा समर्पित कथाको कविता हो। सुख दुखमा सतीसाल झैँ ठडिएर अर्काको लागि जीवन जिउने। पोल्टाभरी थिए होलान गुनासा तिम्रा पनि, आशुका थोपाहरु मिले होलान कोशीमा। कोशी तिम्रो सुख दुखको साथी!

जिन्दगी निरासाको कालकक बादल होइन, आशाको क्षीतिज पनि हो। कल्पना कति रमाइलो र घमाइलो हुन्छ जब जाने पछि, औंशीका रातहरु एक्लै बित्छन्।

मेरा यस्ता काला रात नआइदिए हुन्थियो।
जहाँ मैले हेर्ने जुन र ताराहरु हुँदैनन्
जुन एक्लो छैन त्यँहा ताराहरु पनि छ।
सबै भन्दा ठूलो मेरो मन छ त्यँहा,

म आफ्नै शरीरबाट बगेको रगतबाट कसरी अछुत हुन सक्छु? भन्दै सामाजिक कुरिती प्रति तिखो प्रहार गर्दछिन्m ‘राजस्वला हुँदा’ कविता मार्फत। कुलतमा परेर आफ्नो जीवन बर्बाद गरेका दुव्र्यसनीको कथा बोकेको कविता ‘आत्मग्लानी’ र ‘माफ गरिदेउ’ मा मार्मिकता साथ प्रस्तुत गरेकी छन्।

उही परमआनन्द प्यास जगाइरहेको

अकाट्य सत्य यदी हो भने सर्माउँछौ किन?
हटाएर ती सरमका पर्दाहरु
हराइरहुँ  एक अर्काको न्यानो स्पर्शमा र
पुगौं फेरि उत्कर्षको चरम बिन्दुमा
बुझ्यौ नी तिमीले?

उनका कवितामार्फत प्रकृति नै हो भने किन लुकाउनु छ र ब्रमाण्ड के प्रमाण होइन र मायाको? यो उनको खुला सोचले पोखीएका यावत कविता खुला पाना नै हुन्।

रातो चुरा, धागो र टिका खोसीए फेरि उही दोष र पोइ टोकुवा लाञ्छना। अनी बल्ल मासिक धर्म देखा पर्दछ। एक बिधुवाको मन पर्ने रंग बनेर। ‘मेरो प्रश्न’ कबिताका जबर्जस्त लाइन हुन् यिनी र महिला हिंसा, बाल विवाह, विधवाप्रतिको सामाजिक नजरलाई अत्यन्तै शसक्त कलमले तिखारेकी छन्।

५५ कविताहरु समावेश गरी संग्रहित गरिएको यो कविता पठनीय र संग्रहनीय छ। नेपाली साहित्य जगतमा उदीयमान यी सर्जक आफ्ना शसक्त सृजना मार्फत उदीयमान होइन कीर्तिमान कायम गर्न सफल छिन्। ‘नदिया लहर’ बाट छुटेको उनको साहित्यिक सफर महासागरको अटल यात्रासम्म जान सफल होस् भनी एउटा पाठकको नाताले मेरो शब्द थुङ्गा उनको नदिया लहरमा अर्पण गरँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *