बेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण

बेलायत । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमका साथ उत्साहबद्र्धक रुपमा मनाइयो।
स्थानीय वेष्ट लण्डन स्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद्का संरक्षक महमहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले समुन्द्र पारी विदेशमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव मनाएको ऐतिहासिक भएको चर्चा गरे र साथै दोस्रो चरणको ११० औँ महाकवि देवकोटा जयन्ती समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत डा.सुवेदीले महाकवि देवकोटा साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेको छ भनेर गर्वका साथ भन्न सक्ने बताए।
महामहिमले नेपाली साहित्य विकास परिषद् यूकेले वेलायती भूमिमा यसरी राष्ट्रका धरोहर राष्ट्रकवि र महाकविको सम्मान र सम्झना गरेर साहित्यिक उर्जा जगाएको धारणा राखे। समारोहमा अर्का विशिष्ट वक्ता परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीईले राष्ट्रकवि माधव प्रसाद घिमिरे साहित्यका एक प्रज्वलित नक्षत्र हुन उनको जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको बताए।
साथै दोश्रो चरणको कार्यक्रममा बोल्नु हुदै महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन्। उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भने। उनले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर भएको बताउँदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापना काल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएर बेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गरे।
सभापतिको आसनबाट सम्वोधन गर्दै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले राष्ट्रकवि माधव प्रसाद घिमिरेको शुभ जन्मोत्सव गत वर्षझैं यस वर्षपनि मनाउन पाउँदा परिषद गर्वित भएको बताए। यसैगरी दोश्रो चरणको कार्यक्रममा बोल्दै नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेको बताए।
समारोहमा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली माटोका साहित्यिक निधि र प्रेरणाका भएको बताए। उनले नेपाली साहित्य विकास परिषदले साहित्यिक गतिविधिहरू गरेर कवि, राष्ट्रकवि र महाकवि प्रति सच्चा सम्मान पुर्याएको चर्चा गरे।
यस अघि समारोहमा परिषद्का सह महासचिव डा. संगीता स्वेच्छाले स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुवँरले उद्घोषण गर्दै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए।
समारोहको पहिलो चरणमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्पण गरिएको थियो भने दोश्रो चरणमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्दा सुमन अर्पण गरिएको थियो।
समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवार यूके का संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले, प्रमोद शर्मा, वसन्त रायक्षेत्रीले शर्माले मुना मदन, र मालती मंगलेको संगीतवद्ध गीत मार्मिकरूपले प्रस्तुत गरेका थिए।
कार्यक्रमको तेश्रो चरणमा कविता वाचन गरिएको थियो। कविता वाचनतर्फ भाग लिने कवि कवयतृहरूमा वसन्त रायक्षेत्री, दिनेश पौडेल, खगेन्द्र नेपाली, हरिसिंह थापा, डा.सुधा श्रेष्ठ, डा. संगीता स्वेच्छा, मनोज अन्जान, मदन थापा, कोमल मल्ल थिए।
अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पुर्याउने हुने डा.राघव प्रसाद धिताल, डा.जनक कुमारी धिताल, डा.सुधा श्रेष्ठ, बसन्त राय क्षेत्री, ध्रुव केसी, विरेन्द्र कुँवर, मनोज अन्जान, कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
Facebook Comment