नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

डिसी नेपाल
५ कार्तिक २०७६ ७:३६

काठमाडौँ । नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो।

यसअघि ११० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस ४ हजार २०० रुपैयाँ रहेकामा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपीएस रु २ हजार ५०० मात्र कायम गरिएको कम्पनीले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ।

यसैगरी पहिले ११ देखि १०० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस चार हजार रुपैयाँमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३०० रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १०० रुपैयाँमा उपलब्ध गराइनेछ।

पहिले १०० एमबीपीएस भन्दामाथिका लागि प्रति एमबीपीएस ३ हजार ८०० रुपैयाँ महसुल दर तोकिएकामा अब यो प्रति एमबीपीएस १ हजार ९०० मै उपलब्ध हुनेछ। कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ।

यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधँै बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ।लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई इ–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ।

मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने सङ्घ/संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ।

देशभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *