पोखरा प्रिमियर लिगको मिति सर्यो, यस्तो छ कारण
काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता एक महिना पछि परेको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता एक महिना सरेको जानकारी गराएको छ ।
यसअघि कात्तिक चौंथो साताबाट हुने तय भएको पीपीएल अब मंसिर २८ देखि पुस १२ सम्म हुनेछ । यसअघि आयोजकले कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म हुने जनाएको थियो ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद साग, इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण र यू(१९ टिमको भारत भ्रमण परेको कारण प्रतियोगिता सारिएको जनाएको छ ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म हुनेछ । यस्तै एमसीसीको टिमले कात्तिक १६ देखि कात्तिक २६ सम्म नेपालको भ्रमण गर्नेछ ।
पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनोज,पोखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको थियो । यस संस्करणको विजेता र उपविजेताले पाउने रकम भने खुलाईएको छैन ।
Facebook Comment