रत्ननगरको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहोर सङ्कलनको काम शुरु गरेको छ । फोहोर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि सो नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।
फोहोर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्काली माई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेलले जानकारी दिए।
प्रालिले कात्तिक १ गतेबाट फोहोर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहोर सङ्कलनको जिम्मेवारी दिएको उनले जानकारी दिए।
रत्ननगरमा दैनिक करीब २५ टन फोहोर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहोर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ। फोहोरलाई वर्गीकरण गर्ने, सडने र नसड्ने छुट्याएर सड्ने फोहोरबाट प्राङ्गारिक मल र नसड्ने फोहोर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ।
रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहोर सङ्कलनका लागि करीब रु एक करोड खर्च हँुदै आएको छ ।
नगरपालिका प्रमुख नारायण वनले फोहोरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई जिम्मेवारी दिइएको बताए। निजी क्षेत्रलाई फोहोरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिक रूपमा ७८ लाख वचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उनले बताए । रासस
Facebook Comment