सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई कारवाही

डिसी नेपाल
६ कार्तिक २०७६ १२:४२

काठमाडौं। नेपाली सेनाले सैन्य भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने चार सैनिक सहित २७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाएको छ। उनीहरुलाई भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेन मा संलग्न पाइएपछि कारवाही अगाडि बढाइएको नेपाली सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने चार सैनिक र २३ गैरसैनिकलाई कारवाही अगाडि बढाइएको जनाएको छ।

‘ २०७६ साउन १९ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रहरुमा ५८०० जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भइरहेकोमा केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा ४ जना सैनिक तथा २३ जना गैरसैनिक व्यक्तिहरुको नेपाली सेनाले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

नेपाली सेनाको भर्ना केन्द्र उत्तर पश्चिम पृतना मुख्यालयमा संचालन भइरहको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाइ किर्ते गरेको आशंकामा ३ जना र नम्बर ६ बाहिनी अड्डा, कैलाली भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई निगरानीमा राखी अनुसन्धानको काम भइरहेको सेनाले जनाएको छ।

सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको र अन्य व्यक्तिको खोजी कार्य भइरहेको सेनाले जनाएको छ।

यसैगरी सैन्य भर्ना केन्द्र नम्बर २४ बाहिनी अड्डा जुम्ला तथा नम्बर ५ बाहिनी अड्डा कैलालीमा कक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको र वास्तविक उम्मेद्वारको खोजी भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। अन्य ३ भर्ना केन्द्रमा आर्थिक लेखदेनमा संलग्न ४ गैरसैनिक व्यक्तिलाई पक्राउ गरी अनुन्धान सुरु गरिएको सेनाले जनाएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई नेपाली सेनामा योग्य व्यक्तिको सेवा गर्ने अवसर नगुमोस् भन्ने विषयलाई जोड दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *