कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितासँग जोडियो माछापुच्छ्रे बैंक
काठमाडौं । छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितासँग माछापुच्छ्रे बैंक जोडिएको छ । आगामी पुस पहिलो साता आयोजना हुने सुपर सिक्सेस क्रिकेटमा माछापुच्छ्रे बैंक मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।
मंगलबार एक कार्यक्रमकाबीच आयोजक एसएस इभेन्टस् प्रालि र माछापुच्छ्रेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एसएस इभेन्टस् प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे ।
सम्झौतासँगै प्रतियोगिताको नाम माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस रहने छ । र, प्रतियोगिताको लागि बैंकले आयोजकलाई १५ लाख उपलब्ध गराउनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने प्रतियोगिता पुस २ देखि २३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा २४ कर्पोरेट टिमको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् । खेल ५ ओभरको हुनेछ । प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ ।
उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् ।
Facebook Comment