बलात्कारी बाबा राम रहीमलाई जेलभित्रै ज्यानको खतरा !

डिसी नेपाल
६ कार्तिक २०७६ १४:५७

सिरसा। बलात्कार र हत्या अभियोगमा आजीवन कारावासको सजाय काटिरहेका डेरा सच्चा सौदा प्रमुख बाबा गुरमित राम रहीम सिंहलाई जेलमा अन्य कैदीहरुले प्रताडित गरिरहेका छन् । जेलमा उनीमाथि आक्रमणको षड्यन्त्र पनि रचिँदैछ । यस्तै तर्क गर्दै मंगलबार पंजाब एवं हरियाणा हाइकोर्टमा निवेदन दर्ता गरिएको छ । निवेदनले यसमाथि छिटो सुनुवाइको माग गरेका छन् ।

राम रहीम रोहतकको सुनारिया जेलमा साध्वीको यौन शोषणको अपराधमा २० वर्ष र पत्रकार छत्रपतिको हत्या अभियोगमा आजीवन कारावासको सजाय काटिरहेका छन् । डेरा अस्पतालका डाक्टर मोहित गुप्ताले निवेदनमा राम रहिममाथि जेलमा ३ आक्रमण भइसकेको उल्लेख गरेका छन् । उनले निवेदनमा समर्थकहरुलाई जेलमा बाबालाई भेट्न नदिइएको र अन्य कुनै सूचना पनि नदिइएको भनेका छन् । उनले राम रहीमलाई अदालतमा पेश गर्न र उनको सुरक्षा बढाउन हाइकोर्टसँग अपिल गरेका छन् ।

राम रहीम र उनकी पत्नीले यसअघि पेरोलको निवेदन दिएका थिए तर अदालतले यसलाई खारेज गरिदिएको थियो । डा. गुप्ताले निवेदनमा २२ जूनको घटनाको हवाला दिँदै भनेका छन् कि उच्च सुरक्षा भएको नाभा जेलमा डेराका एक अनुयायीको हत्या गरिएको थियो । यो घटनाबाट डेरा अनुयायी निकै चिन्तित छन् र राम रहीमको सुरक्षालाई लिएर तनावमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *