ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत

डिसी नेपाल
७ कार्तिक २०७६ ७:२१

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्‍याएका छन्। २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा पेन्टागनका एकजना वरिष्ठ विज्ञले बयान दिन लाग्दा उनीहरूले त्यस्तो बाधा पुर्याएका हुन्।

रिपब्लिकन सांसदहरू समितिबाट बाहिर निस्किएपछि अमेरिकाका डिमोक्र्याटिक पार्टीका सांसदहरूले उनीहरूमाथि राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन्।

रिपब्लिकनहरूले चाहिँ राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीको प्रक्रियाबाट हटाउने प्रयास गरिरहेको आरोप महाअभियोगसम्बन्धी जाँचबुझ गरिरहेको संसदीय समितिलाई लगाएका छन्।

उक्त समितिमा डिमोक्र्याट र रिपब्लिकन दुवै तर्फका सांसद रहेका छन्। तर डिमोक्र्याटहरूले रिपब्लिकनहरूले रुस र चीनलाई मद्दत गरिरहेको आरोप लगाएका छन्। पाँच घन्टाको विलम्बपछि समितिले एकजना साक्षी पेन्टागनकी लौरा कुपरको बयान सुन्न सक्यो।

राष्ट्रपति ट्रम्पले यो साता आफूविरुद्धको महाअभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेका थिए।

डिमोक्र्याटिकका एकजना सांसद टेड ल्यूले ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेकोबारे कुपरसँगको बयानले थुप्रै प्रमाणहरूको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताए। सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि बाइडन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *