प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

डिसी नेपाल
७ कार्तिक २०७६ १२:०८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्। अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागि हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन्।

त्यस अवसरमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन्।

प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली कार्तिक १० गते आईतबार स्वदेश फर्कनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *