सरिफको स्वास्थ्यप्रति प्रधानमन्त्री खानद्वारा चिन्ता व्यक्त

डिसी नेपाल
८ कार्तिक २०७६ ६:०८

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन विताइरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले सरिफ कारागारमै विरामी भएको थाहा पाएपछि अस्पताल लैजाने व्यवस्था गरिएको र यसले आफूलाई चिन्तित बनाएको विहीबार बताएका छन् ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बने सरिफलाई सन् २०१७ देखि लाहोरस्थित कारागारमा राखिएको छ । उनलाई भ्रष्टाचारसम्बन्धी धेरै आरोपहरू लगाइएको छ ।

सरिफलाई गत मङ्गलबारदेखि अस्पताल राखिएको छ । ६९ बर्षिय सरिफलाई रगतमा प्लेटलेटको अवस्था खतरापूर्ण देखिएपछि अस्पताल लगिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिवेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन् ।

प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिएका छन् ।

पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग — नवाज (पिएमएल—एन)को नेतृत्व समेत लिएका उनका भाई शहबाजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराएका थिए।

शहबाजले मङ्गलबार लेखेका थिए,“पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य अवस्था निकै नराम्रो भएको छ । यसबारे मैले सबैको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । यतिवेला उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि प्रार्थना गर्न चाहन्छु ।”

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई मधुमेह लगायतका धेरै रोगले पहिलेदेखि नै सताउँदै आएको पारिवारिक श्रोतले जनाएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले सन् २०१७ मा उनलाई दोषी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो ।

सरिफले भने आरोपलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *