भारतीय टिममा धोनीको करिअर समाप्त ! मुख्य छनोटकर्ताले भने ‘हामी अगाडि बढिरहेका छौं’

डिसी नेपाल
८ कार्तिक २०७६ ११:१५

काठमाडौं। बंगलादेशविरुद्धको टि–२० सिरिजका लागि टिममा नपरेपछि भारतको राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान महेन्द्र सिंह धोनीको करिअर समाप्त भएको अनुमान गरिएको छ । टिमको घोषणापछि मुख्य छनोटकर्ता एमएसके प्रसादले भनेका थिए – ‘हामी अगाडि बढिरहेका छौं ।’ बंगलादेशविरुद्ध ३ टि–२० को सिरिजमा ऋषभ पन्त पहिलो रोजाइका विकेटकिपर बनेका छन् । १५ जनाको टिममा संजु सामसन पनि छन् । बिहीबार घोषणा गरिएको टिममा विराट कोहलीलाई आराम दिएर रोहित शर्मालाई कप्तान बनाइएको छ ।

टिममा ३८ वर्षीय धोनीलाई कुनै स्थान दिइएन यद्यपि मुख्य छनोटकर्ता प्रसादले स्पष्ट शब्दमा ‘धोनी आफ्नो देशको लागि फेरि खेल्ने छैनन्’ पनि भनेनन् । ‘विश्वकपपछि हामीले स्पष्ट रुपमा ऋषभ पन्तमा ध्यान केन्द्रित गरेका छौं’ प्रसादले भने ‘विश्वकपपछि मैले स्पष्ट शब्दमा भनेको थिएँ कि हामी अगाडि बढिरहेका छौं र हामीले युवाहरुलाई अवसर दिँदैछौं ताकि उनीहरुले टिममा आफूलाई स्थापित गर्न सकुन् ।’ प्रसादले अगाडि भने ‘ऋषभ पन्तले राम्रो गरिरहेको टिममा संजु सामसन पनि आएको देखेपछि तपाइँहरुले हाम्रो सोच पक्कै बुझ्नुभयो होला ।’

घरेलु लिगमा राम्रो प्रदर्शन गरेर धोनी फेरि टिममा फर्कन सक्छन् कि ? भन्ने प्रश्नमा प्रसादले भने ‘त्यो उनको निजी कुरा हो । घरेलु क्रिकेटमा जाने त्यहाँ राम्रो प्रदर्शन गरेर फर्किने वा सन्यास लिने बारेमा सोच्ने सबै कुरा उनको नितान्त निजी कुरा हो । हामीले भविष्यको लागि स्पष्ट रोडम्याप बनाइसकेका छौं ।’ प्रसादले अगाडि भने ‘मैले अगाडि पनि भनें हामीले विकेटकिपरका लागि ऋषभ पन्तलाई समर्थन गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *