प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
काठमाडौं। एसिड आक्रमणमा परेर उपचार गराइरहेकी किशोरी मुस्कान खातुन अन्सारीले प्रधानमन्त्रीसँग आक्रमणकारीलाई फाँसी दिन माग गरेकी छिन् । मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । कक्षा ९ मा अध्ययरत वीरगञ्जकी मुस्कानमाथि स्कुल जाने क्रममा २० भदौमा एसिड आक्रमण भएको थियो ।
एसिड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँलाई पक्राउ गरी ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । अदालतका अभियोग पक्षले माजिदलाई १० वर्ष कैद र १ लाख जरिवाना तथा सम्सादलाई ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना मागदाबीसहित मुद्दा दर्ता गरेको भए पनि जिल्ला अदालतले दुवै नाबालिग रहेको भन्दै सुधार गृहमा पठाइएको छ ।
प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा मुस्कानले त्यसप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।’ उनले केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि एसिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी छन् ।
यस्तो छ उनको पत्र –
मिति :२०७६/७/५
माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी
मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।
यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।
धन्यवाद
कुमारी पुजा,दुर्गा पुजा सकियो अब लक्ष्मी पुजाको तयारी छ।५० दिन देखी तेजाबको पिडा भोग्ने हामी सबैको छोरी मुस्कानले प्रधानमन्त्री मन्त्री ज्यु लाई एक पत्र लेखेर गुहार मागेकी छिन।सम्पुर्ण नेपाली चेलीहरु लाई यो तिहार मा सुरक्षित अनुभुती गराउन तेजाब अपराधी लाई जन्म कैद। @kpsharmaoli pic.twitter.com/AQrismXC8g
— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 24, 2019
Facebook Comment