कृष्णबहादुर महरामाथिको अनुसन्धान सकियो, के छ प्रहरीको प्रतिवेदनमा ?

डिसी नेपाल
८ कार्तिक २०७६ १७:३५

काठमाडौं। बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान सकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २० दिन लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अदालतले महराको अनुसन्धान गर्न प्रहरीलाई बिहीवारमात्र सात दिनको म्याद थप गरेको थियो। त्यस्तै, बिहीवारमात्र उनको डिएनए परीक्षण गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालयले प्रहरीले बुझाएको अनुसन्धानबाट सन्तुष्ट भएमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराउनेछ। त्यसपछि हुने बहसपछि अदालतले साधारण तारिखमा रिहा, धरौटीमा रिहा वा पुर्पक्षको लागि जेल चलाउनेमध्ये एक आदेश दिनेछ।

पीडित महिलाको कोठाबाट प्रहरीले संकलन गरेको सबुत प्रमाण हो या होइन भनेर पुष्टि गर्नका लागि महराको डीएनए परीक्षण गर्न लागिएको हो। कोठाबाट प्रहरीले महराको भनिएको चस्मा, जुत्ताको तलुवा, रक्सीको बोतल लगायत सामग्री बरामद गरेको थियो। प्रहरीले डिएनएको विवरण भने अनुसन्धान रिपोर्टमा उल्लेख गरेको छैन जुन पछि थपिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *