देउसी भैलो गीतको विमोचन
ललितपुर। बाग्लुङ मगर समाज काठमाडौं उपत्यकाको आयोजनामा आज धोवीघाटमा तिहार विशेष देउसी भैलो गीतको विमोचन भएको छ।
दिपावलीको अवसर पारेर मगर समाज विरकोटको व्यवस्थापनमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै दुई वटा गीत विमोचन गरिएको थियो।
मगर समाजले तिहारमा गाउने बलिहाङ अर्थात बलिराजाको सम्बोधन गरेर गाउने एक थरीको गीत र कालिनाग अर्थात भाईदिदीको महिमा झल्काउने गीत लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण र सम्बद्र्धनमा लागि परेको सो समाजका समन्वयकर्ता एमबहादुर बुढाथोकीले जानकारी दिए।
कार्यक्रममा आदिवासी जनजातीले गाउने मगर समुदायमा प्रचलित सोरठी गीतको पनि श्रब्यदृश्य देखाइएको थियो । “यो गीत विशेष गरी बाग्लुङ् वीरकोटका मानिसले गाउने गरेका छौँ”, बुढाथोकीले भने।
अन्तरराष्ट्रिय मगर सञ्जालका वर्तमान अध्यक्ष खर्क रानाले नेपाली चाडपर्वको विषयमा जान्ने र बुझ्ने इच्छा रहेको हुँदा तिहारको अवसर पारी मातृभूमि आएको जानकारी दिए। मगर समुदाय मानिसले तिहारमा बलिराजालाई अतिनै मान्ने गरेको बताएका छन्।
मगर समुदायमा रहेको मान्यता अनुसार तिहारको महत्व एक किवदन्तीमा आधारित रहेको छ। तिहारको टिका लगाउन एक जना भाई दिदीको घरमा जाँदा बाटोमा एउटा कालिनाग भेट्छन्। त्यो नागले ती भाईलाई कहाँ जान लागेको भनि सोधेपछि ती भाईले म दिदीको घरमा तिहारको टिका लगाउन जान लागेको भनेछन्। कालिनागले आज मलाई धेरै भोक लागेको छ। म तिमीलाई खान्छु। कहाँ दिदीको घरमा टिका लगाउन जान लागेको भनेको भनिछन्।
ती भाईले हैन् म दिदीको घर टिका लगाउन जान लागेको। मलाई खाने कुरा नगर भनेपछि। कालिनागले मानीन्छीन्। उनले जिद्दी गरेर म तिमीलाई खान्छु भनेपछि। ति भाईले म दिदीको हातको टिका लगाएर आउँछु अनि मलाई खानु भनी बाचा बन्दन गरी दिदीको घर टिका लगाउन गएछन्।
भाईले अध्यारो मुख लगाएर आएपछि दिदीले के भयो भनी सोघिछन्। भाईले बाटोमा भएको सबै कुरा बताएछन्। दिदीले पिर नगर। म तिम्रो चिन्ता दुर गरिदिन्छु भनी भाईटिकाको दिन दैलोको डिलमा पाँच ओटा सेता धर्काको साथमा पाँचवटा तेलको धर्का समेत हालिछिन्। दिदीले भाईटिका गर्नुपूर्व नागको आँखा फुटाउने जुक्तीका साथ एउटा ओखर फुटाइ टिका लगाइदिइछन्।
टिका सकेर भाई मनमा चिन्ता लिदै गर फर्र्केछन्। बाटोमा फर्कदाँ फर्कदै उनले कालिनाग पाँच टुक्रा भएर मरेको देखेछन्। दिदीले भनेको कुरा ठ्याक्कै मिल्न गयो भनि सबैलाई आफ्नो दिदीको शक्तिबारे कथा सुनाएछन्। यस बेलादेखि मगर समुदायका मानिसले तिहारको महत्वलाई यसरी लिने गरेको वृद्ध बुढाथोकीले जानकारी दिए।
कार्यक्रममा मगर समुदायमा प्रचलित हाई मुरली हाँ, फाइलो देउसुरे नामक दुईवटा गीत गाइएको थियो।
Facebook Comment