विकास निर्माणमा गम्भीर हुन मन्त्री भट्टराईको आग्रह
ताप्लेजुङ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन्। विकास निर्माणका लागि गठित उपभोक्ता समितिबाट समयमा काम नहुने र हिनामिना गर्ने प्रवृत्ति बढ्दै गएको उनले बताए।
ताप्लेजुङमा शुक्रबार आयोजित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले हरेक आयोजनाहरु समयमा सम्पन्न नहुँदा र ती आयोजनाबाट जिम्मेवार पक्षले नाजायज फाइदा लिँदा समृद्धिको सपना पूरा हुन नसक्ने स्पष्ट पारे। हरेक उपभोक्ता समिति राजनीतिक दलको दबाब र प्रभावमा बन्ने अनि उसैको आड लिएर उपभोक्ता समितिले हिनामिना गर्ने जस्ता प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न सबै राजनीतिक दल र जनप्रतिनिधिलाई उनले आग्रह गरे।
बैठकमा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए । यसैबीच शुक्रबार नेकपा ताप्लेजुङले आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रममा समेत मन्त्री भट्टराई सहभागी भए। रासस
Facebook Comment