कृष्णबहादुर महराविरुद्ध ‘जबरजस्ती करणी उद्योग’ मुद्दा चलाउन सिफारिस

डिसी नेपाल
९ कार्तिक २०७६ १२:०१

काठमाडौं। प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउन सुझाव दिएको छ । प्रहरीले २० दिनको अनुसन्धानपछि यस्तो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रहरीले शुक्रबार अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

महराले भने रोशनी शाहीलाई बलात्कार प्रयास नगरेको दावी गरेका छन् । बयानका क्रममा महराले आफू रोशनी बस्ने घरसम्म गएको भए पनि कोठाभित्र नपसेको बताएका छन् । महराले आफूले रोशनीलाई बाहिरैबाट फोन गरेको तर उनले फोन नउठाएपछि फर्किएको बताएका हुन् । महराले २०–२५ मिनेट कुरेको त्यसपछि फर्किएको भनेका छन् । रोशनीको कोठामा भेटिएका महराका भनिएका सामान आफूलाई फसाउन त्यहाँ राखिएको महराको दावी छ ।

प्रहरीले महराले सार्वजनिक पदमा बहाल भएका बेला यी कार्य गरेको भन्दै प्रहरीले थप सजायको मागदावी पनि गरेको छ । प्रहरी प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालय मुद्दा चलाउने वा नचलाउने भन्नेमा निर्णय गर्नेछ । महरालाई असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो । असोज १२ गते राति संसद् सचिवालयमा कार्यरत रोशनीमाथि बलात्कार प्रयास गरेको आरोपमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो । घटनाको दुई दिनपछि असोज १४ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *