लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छः सभापति देउवा

डिसी नेपाल
९ कार्तिक २०७६ १३:२८

काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताएका छन्।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उहाँले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए। “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उनले भने।

पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए। सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गरे। “काङ्ग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने। प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी काङ्ग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए।

सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा काङ्ग्रेस विजयी हुने बताए। निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उनको भनाइ थियो।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमात्र काङ्ग्रेस बलियो हुने बताए।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला काङ्ग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण काङ्ग्रेसले हारेको उनको भनाइ थियो।

क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्नो जिम्मेवारीअनुसार काम गरे मात्र काङ्ग्रेस बलियो हुने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *