मद्दत माग्दामाग्दै ज्यान गुमाएका आप्रवासीहरु नग्न थिए र भित्ताभरी रक्ताम्य हातको छाप थियो
एजेन्सी। बेलायतमा लरीभित्र मृत अवस्थामा भेटिएका ३९ जना आप्रवासीले मद्दत माग्दामाग्दै कन्टेनरको भित्ताभरी रक्ताम्य हातको छाप छोडेको बताइएको छ । बुधबार बिहानै ती आप्रवासीहरु कन्टेनरभित्र मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शव अत्यन्तै कम कपडा लगाएको र केही पूर्ण नग्न अवस्थामा भेटिएको स्रोतलाई उद्धृत गर्दै मिररले लेखेको छ ।
एक स्रोतले मिररलाई भन्यो ‘जब कन्टेनरको ढोका खोलियो, अधिकारीहरु एकमाथि अर्को खप्टिएर रहेका शवहरुको थुप्रो देखेर झसंग भए । ढोका नजिकै भएका शवको मुखबाट फिँज आइरहेको थियो । त्यहाँ रक्ताम्य हातका छापहरु थिए, सम्भवतः उनीहरुले मद्दतको लागि ढोका पिटेका थिए । उनहिरुले धेरै कम कपडा लगाएका थिए र केही पूर्ण नग्न थिए ।’
लरीमा मारिएको भनिएकी भियतनामकी फाम थी ट्रा मीको परिवारले बनाएअनुसार उनलाई चीन र फ्रान्स हुँदै बेलायतसम्म तस्करी गर्नको लागि उनले ३० हजार पाउण्ड तिरेकी थिइन् । तस्करहरुले सबै आप्रवासीबाट १.२ मिलियन पाउण्ड असुलेको प्रारम्भिक अनुमान छ । उनीहरुको मृत्युपछि यस घटनामा ४ जनालाई पक्राउ गरिएको छ । यीमध्ये २ जना पति पत्नी, जोआन्ना र थोमस माहेर पनि छन् ।
पुलिसले सुरुमा सबै मृतकहरु चिनियाँ नागरिक रहेको आशंका गरेको थियो तर कम्तीमा ६ भियतनामी परिवारले आफ्ना परिवारका सदस्य लरीमा रहेको बताएका छन् । १९ वर्षकी एक भियतनामी युवतीका दाजुले बताएअनुसार उनकी बहिनीले मंगलबार बिहान उनलाई फोन गरेकी थिइन् । फोनमा उनले आफू एक कन्टेनरमा जान लागेको र अब आफूले फोन अफ गर्ने बताएकी थिइन् । ती दाजुले त्यसपछि बहिनी सम्पर्कविहीन भएको बताएका छन् ।
२० वर्षका गुयेन डिन्ह लुओङका परिवारका अनुसार उनी १ वर्षअघि भियतनामबाट फ्रान्स गएका थिए । उनी पनि पछिल्लो समय सम्पर्कविहीन छन् र उनी पनि कन्टेनरमा भएको आशंका गरेका छन् । पुलिसले जोआन्ना र थोमससँग सोधपुछ गरिरहेको छ । केही समयअघि उनीहरुले द मिररलाई २५ वर्षका मो रोबिन्सनले चलाएको लरी पहिले आफूहरुको भएको तर एक वर्षअघि आफूहरुले लरी एक वर्षअघि आयरल्याण्डको एक कम्पनीलाई बेचेको बताएका थिए ।
रोबिन्सनलाई पनि पुलिसले बुधबार नै पक्राउ गरेको छ । पुलिसले शुक्रबार यस घटनामा चौथो व्यक्तिलाई पक्राउ गरेको छ । पहिचान नखुलाइएका उत्तरी आयरल्याण्डका ४८ वर्षका यी व्यक्तिलाई स्टान्स्टेड विमानस्थलबाट पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।
Facebook Comment