इस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी दाबी

डिसी नेपाल
१० कार्तिक २०७६ १२:४२

वासिङ्टन। आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन्। विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको बताइएको छ।

एकजना अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बग्दादी सिरियाको इड्लिब प्रान्तमा मारिएको बताएका छन्। तर उक्त कारबाहीको विस्तृत विवरण भने प्राप्त भएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति “आज ठूलै कुरा हुँदैछ” भन्दै ट्वीट गर्नु भएको थियो। ह्वाइट हाउसका प्रवक्ता होगान गिड्लीले राष्ट्रपति ट्रम्पले उक्त हवाई कारबाहीका बारेमा आफैं वक्तव्य दिन लागेकाे बताए।

उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेटको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको छ। कुनै समय इराक, सिरिया समेतको ठूलो भूभागमा कब्जा जमाउन सफल इस्लामिक स्टेटले पछिल्लो समय पराजय भोगेको थियो।

अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेटको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस संगठनले घाँटी छिनालेर व्यक्तिको क्रुरतापूर्वक हत्या गर्ने भन्दै बदनाम भएको थियो। इराक र सिरियामा प्रभाव राखेको यस संगठनमा पश्चिमा मुलुकका व्यक्तिसमेत लाखौं मानिस आबद्ध भएका थिए।

अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए। कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए । यो संगठनका समर्थकहरुले युरोप र अमेरिकी भूभागमा आतंकवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेटले पछिल्लो समय विमान अपहरण जस्ता ठूला आक्रमणको साटो साना स्तरका आक्रमणहरु गरेर जनजीवन त्रसित बनाउने गरेका थिए।

अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख तोकेको थियो। पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकूलाई आफू र आफ्ना परिवारका सदस्यलाई बन्दी जीवनबाट मुक्त गर्न अपिल गरेका थिए । यो उनको गत अप्रिल यताको पहिलो थियो। (रासस-एपी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *