खट्टर बने फेरि मुख्यमन्त्री, काँग्रेसको सपना चकनाचुर
नयाँ दिल्ली (एजेन्सी) । भारतको हरियाणामा भाजपा नेता मनोहर लाल खट्टरले आइतबार दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ लिएका छन्। २१ अक्टुबरमा भएको विधानसभा चुनावमा भाजपाले बहुमत नपाए पनि तेस्रो बनेको दल जननायक जनता दलसँगको गठबन्धनमा भाजपाले सरकार बनाएको हो। ६५ वर्षका खट्टर दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्। उनीसँगै ३१ वर्षीय जजपा अध्यक्ष दुष्यन्त चौटालाले पनि उपमुख्यमन्त्री पदको शपथ लिए ।
भाजापले सरकार बनाएसँगै काँग्रेस आईले सरकार बनाउने अवसर गुमाएको छ। काँग्रेस नेता भूपेन्द्रसिंह हुड्डाले चुनाव परिणाम आएपछि भाजपा विरुद्ध सबै दल मिलेर सरकार बनाउनुपर्ने बताएका थिए। तर, काँग्रेस बाहेकका दलले भाजपालाई समर्थन गरेपछि काँग्रेस प्रमुख प्रतिपक्षी दल बन्न बाध्य भयो।
हरियाणाका राज्यपाल सत्यदेव नारायण आर्यले दुवैलाई शपथ खुवाएका थिए । नयाँ सरकारमा भाजपालाई जजपासहित ७ निर्दलीय विधायकहरुको समर्थन रहेको छ । मन्त्रीहरुको सपथ दिपावली पछि हुने बताइएको छ ।
गत २१ अक्टोबरमा भएको हरियाणा विधानसभा चुनावको परिणाम २४ अक्टोबरमा आएको थियो । यसमा भाजपाले ४० सिट जितेको थियो । सरकार बनाउन भाजपालाई ४६ विधायकको समर्थन आवश्यक थियो ।
७ निर्दलीय विधायकसहित हरियाण लोकहित पार्टीका गोपाल कान्डाले भाजपालाई समर्थन गर्ने घोषणा गरेको थियो । यसबीच अमित शाहसँगको भेटपछि जजपा नेता दुष्यन्त चौटालाले पनि भाजपालाई समर्थन दिने बताए थिए । शुक्रबार भाजपाले जजपा र निर्दलीय विधायकहरुसँग मिलेर सरकार बनाउने घोषणा गरेको थियो ।
खट्टर ५ सालको कार्यकाल पूरा गर्ने पहिलो गैर काँग्रेसी मुख्यमन्त्री हुन् । योसँगै भाजपा र चौटाला परिवार १४ वर्षपछि पुनः सत्ताको भागीदार बनेका छन् ।
चुनावमा भाजपाले ४० सिट जित्दा काँग्रेसले ३१, जजपाले १०, इनेलोले १, हलोपाले १ तथा निर्दलीय सांसदले १० सिट जितेका थिए ।
Facebook Comment