घोषणा गरेको १४ दिनपछि पारसले औपचारिक रुपमा लिखित राजीनामा बुझाए
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेको १४ दिनपछि पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक जानकारी गराएका छन् ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइतबार इमेलमार्फत क्यानलाई कप्तान पदबाट राजीनामा दिएको बताए । गत कार्तिक ३ मा बसेको क्यानको बैठकले पारसलाई राजिनाबारे प्रष्ट पार्न पत्र पठाएको थियो । ‘ पारसले मिडियामा जुन कुरा आएको छ त्यो नै हो भन्नु भएको छ । तिहारअघि क्यानको बैठक बस्दैन । पारसले अब कप्तानको रुपमा क्रिकेट नखेल्ने भन्दै आउनु भएको छ । आगमी बैठकले पारसको विकल्प खोज्ने छ’, प्याकुरेलले भने ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ मा लगाएको प्रतिबन्ध ससर्त रुपमा गत असोज २६ मा फुकुवा गरेको थियो । क्यान निलम्बन फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । सन् २००९ मा कप्तान बनेका पारसले डिभिजन ५ देखी टि ट्वान्टी विश्वकप हुँदै वान डे मान्यता सम्मको ठूलो सफलता दिलाए ।
Facebook Comment