मैदान बाहिरका खेलाडीले बल छोइदिएपछि…
एजेन्सी । जर्मन फुटबल लिगको दोस्रो श्रेणी बुन्डेसलिगा-२ अन्तर्गत शुक्रबार होलस्टेन किएल र बोकुमबीचको खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले आश्चर्यजनक पेनाल्टी निर्णय दिए ।
खेल चलिरहेको अवस्थामा पोस्ट पछाडी वैकल्पिक खेलाडी वार्मअप गरिरहेका थिए । बोकुमका खेलाडीले गरेको प्रहार पोस्टभन्दा बाहिर जाने पक्का भएपछि वार्मअप गर्दै गरेका मिडफिल्डर मिकेल एबेरवेनले बललाई खुट्टाले रोके । तर उनले बल पूरै लाइनभन्दा बाहिर नजाँदै रोकेको भीएआरमार्फत रेफ्रीले पत्ता लागाए । नतिजा रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै विपक्षी टोलीलाई पेनाल्टी अवसर दिए ।
अन्तर्राष्ट्रिय फुटबलको नियमअनुसार यदि वैकल्पिक खेलाडीले खेलमा असर गर्न खोजेमा जहाँ गल्ति गरेको हो त्यसै स्थानबाट सिधा फ्रिकिक अथवा पेनाल्टी दिन पाउने व्यवस्था छ । एबेरवेनले पेनाल्टी बक्सभित्र नै रहेको बल रोकेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिँदै विपक्षी टोलीलाई पेनाल्टी दिएका थिए । विगतमा रेफ्रीले यस्तो निर्णय गर्न कठिन हुने भएपनि पछिल्लो समय भीएआरको आगमनसँगै यस्ता गल्तिमा पनि रेफ्रीले कारवाही गर्न थालेका हुन् ।
बोकुमले प्राप्त गरेको पेनाल्टीलाई फरवार्ड सिलेभेर एमबोसीले गोलमा परिणत गरे । किएल खेलमा १-० ले अग्रतामा रहेको अवस्थालाई पेनाल्टी गोलले १-१ को बराबरीमा ल्याएको थियो । यद्यपी दोस्रो हाफमा जानी सर्राले गोल गर्दै किएलको जित पक्का गरे । बाहिरिन लागेको बल छोएका एबेरवेन यसै सिजन मात्र फोर्चुना कोलनबाट किएल आएका हुन् । उनले हालसम्म कुनै खेल खेलेका छैनन् । यस अर्थमा उनले क्लबका लागि मैदान प्रवेश नगर्दै गरेको पहिलो टच टोलीको लागि महँगो परेको छ ।
Facebook Comment