बंगलादेशी अलराउण्डर शाकिब अल हसनमाथि १८ महिना प्रतिबन्ध लाग्न सक्ने
काठमाडौं। बंगलादेशी स्टार खेलाडी शाकिब अल हसन अहिले भारत टुरमा जाने टिमकोप्रशिक्षणबाट बाहिर छन् । आइसीसीको निर्देशनपछि उनलाई अभ्यासबाट बाहिर राखिएको थियो । यही बीचमा एक बंगलादेशी मिडियाले यी अलराउण्डरमाथि म्याच फिक्सिङको अभियोगमा प्रतिबन्धको तयारी सुरु गरिएको दावी गरेको छ । हालै शाकिबले राष्ट्रिय टिमका खेलाडीहरुको अभूतपूर्व हडतालमा अहम भूमिका निभाएका थिए ।
बंगलादेशका टेस्ट र टि–२० का कप्तान शाकिबलाई आइसीसीले १८ महिनाको लागि प्रतिबन्ध लगाउन सक्छ । बंगलादेशको भारत टुर अगाडि बंगलादेश क्रिकेट बोर्डका समस्या कम गर्नको लागि आइसीसीले यस्तो गर्न सक्छ । भारत टुरमा बंगलादेशले ३ टि–२० र २ टेस्ट खेल्नेछ । यो टुर ३ नोभेम्बरदेखि सुरु हुँदैछ ।
बंगलादेशको प्रमुख दैनिक समकालका अनुसार आइसीसीको निर्देशनमा बंगलादेश क्रिकेट बोर्डले शाकिबलाई अभ्यासबाट टाढा राखेको हो । यही कारण अभ्यासमा सहभागी नभएका शाकिब सोमबार बेलुकाको बैठकमा पनि सहभागी भएनन् जुन बैठकमा बोर्ड अध्यक्ष नजमुल हसनसँग डे–नाइट टेस्टका विषयमा चर्चा हुनुपर्ने थियो । आइसीसीले यस विषयमा अहिले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार २ वर्ष पहिले एक अन्तर्राष्ट्रिय खेलअघि शाकिबलाई एक बुकीले अफर दिएका थिए । शाकिबले आइसीसीको भ्रष्टाचार निरोधक र सुरक्षा इकाइ (एसीएसयु)लाई यस बारेमा कुनै जानकारी दिएनन् । समाचारअनुसार शाकिबले हालै एसीएसयुका जाँच अधिकारीको अगाडि यो कुरा स्वीकार गरेका छन् ।
Facebook Comment