बुधबार थाईल्याण्डसँग भिड्दै नेपाल
काठमाडौं । थाईल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले बुधबार घरेलु टिम थाईल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाईल्याण्डमा रहेको नेपाली टोलीले थाईल्याण्डको टिमसँग खेल्न लागेको हो। नेपाल र थाईल्याण्डबीचको खेल बुधबार ४ बजेपछि सुरु हुनेछ।
यसअघि नेपाली टोलीले थाईल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ। जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ।
शनिबार भएको खेलमा नेपाली टिम थाईल्याण्डको यू–१८ विश्व विद्यालय टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
त्यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको थियो।
तेस्रो खेलमा नेपाल थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। यस्तै चौंथो खेलमा नेपालले जापानको जुनियर टिमलाई ३–१ को सेटमा हराएको थियो।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाईल्याण्डमा रहेका छन्।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ। यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ।
Facebook Comment