मेस्सी बंगलादेशमा आएर अन्तर्राष्ट्रिय खेल खेल्दै
काठमाडौं। अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सी बंगलादेशमा आएर अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् । उनी आगामी नोभेम्बर १८ मा बंगलादेशको बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा आएर पाराग्वेविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछन् । यो खेललाई लिएर बंगलादेशमा उत्साह छ र यसको तयारी भव्य रुपमा गरिँदैछ ।
अहिले मेस्सी अन्तर्राष्ट्रिय खेल खेलिरहेका छैनन् । कोपा अमेरिकाको सेमिफाइनलका क्रममा दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल)मा भ्रष्टाचार भएको र कोपा अमेरिका ब्राजिललाई जिताउन नियतवश सेटिङ मिलाइएको टिप्पणीपछि मेस्सीलाई अन्तर्राष्ट्रिय खेलमा तीन महिनाको प्रतिबन्ध लगाइएको थियो ।
मेस्सीको प्रतिबन्ध नोभेम्बर २ मा फुकुवा हुँदैछ । यो फुकुवापछि मेस्सी अन्तर्राष्ट्रिय खेल खेल्नका लागि राष्ट्रिय टिममा फर्कने अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले बताइसकेका छन् । अर्जेन्टिनाले अब नोभेम्बर १५ मा साउदी अरेबियाको किंग साउद युनिभर्सिटी स्टेडियममा ब्राजिलविरुद्ध खेल्नेछ त्यसको ३ दिनपछि बंगलादेश आएर बंगबन्धु स्टेडियममा पाराग्वेविरुद्ध खेल्नेछ ।
Facebook Comment