भारत र चीनको आर्थिक वृद्धि दर घटेपछि नेपाली व्यवसायी चिन्तित
काठमाडौं। नेपालका छिमेकी मुलुकहरू भारत र चीनको आर्थिक वृद्धिदर कम भइरहेकाले ती देशहरूबाट नेपालमा आउने पर्यटकहरूको संख्या कम हुनसक्ने व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
भारत र चीनको आर्थिक वृद्धिदरमा आएको कमीको असर दक्षिणपूर्वी एशियाली मुलुकहरूको पर्यटन व्यवसायमा परेको खबरहरू आइरहेका बेला उनीहरूले चिन्तित देखिएका हुन्।
तर सरकारी अधिकारीहरू भने ती दुवै मुलुकबाट नेपालमा आउने र दक्षिणपूर्वी एशियाली मुलुकहरूमा जाने पर्यटकको उद्देश्य फरक हुने गरेकाले त्यत्ति धेरै असर नपर्ने बताउँछन्।
सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको नेपालले भारत र चीनबाट अहिलेभन्दा धेरै पर्यटक आउने अपेक्षा राखेको अधिकारीहरूले बताउँदै आएका छन्।
तर पछिल्ला महिनाहरूमा भारत र चीन दुवै देशको आर्थिक वृद्धिदर कम भएको भन्दै ती मुलुकहरूमा नै चिन्ताहरू व्यक्त भइरहेका छन्।
चीनले गत महिना पनि अपेक्षा गरिएभन्दा कम आर्थिक वृद्धि भएको विवरण सार्वजनिक गरेको थियो। त्यस्तै भारतमा पनि आर्थिक वृद्धिदर घटेको खबरहरू आएका छन्।
यस्तो अवस्थामा नेपालमा पनि प्रत्यक्ष असर पर्नसक्ने र पर्यटन वर्षका लागि राखिएको २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा असर पुग्नसक्ने पर्यटन व्यवसायीहरूको तर्क छ।
उनीहरूले छिमेकी मुलुकहरूमा देखिएको आर्थिक वृद्धिदरको कमीलाई लक्षित गरी नेपाल सरकारले पनि कदम चाल्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तैमध्येका एकजना पर्यटन व्यवसायी विक्रम पाँडे भन्छन्, ‘यस्तो मन्दी आउँदा खेरि सबै हवाई सेवाप्रदायक र पर्यटन व्यवसायीलाई राखेर कसरी हुन्छ पर्यटकलाई आकर्षित गर्ने खाले काम गर्नुपर्यो नि।’
उनी नेपालमा चीन र भारत दुवै तिरबाट मध्यम वर्गका पर्यटक नेपाल आउने गरेकाले त्यहाँको अर्थतन्त्र जस्तो छ त्यसैका आधारमा नेपालमा पर्यटक भित्रने गरेको बताउँछन्।
पाँडे भन्छन्, ‘मध्यम वर्गका पर्यटक भनेको उनीहरूले बचत गरेको पैसामा घुम्न आउने हो। त्यसले गर्दा चीनको अर्थतन्त्र जस्तो देखिन्छ त्यसैका आधारमा पर्यटक पनि बढ्छन् अनि भारतको पनि त्यस्तै हो। दुवै देशमा अर्थतन्त्र कमजोर भयो भने उनीहरू अर्को वर्ष घुम्म जाऔँ भनेर भन्न सक्छन्।’
होटल सङ्घ नेपालकी अध्यक्ष सिर्जना राणा भने भारत र चीनको आर्थिक अवस्थाले नेपालको पर्यटन व्यवसायमा केही असर गरे पनि त्यसलाई विभिन्न उपाय लगाएर कम गर्न सकिने बताउँछिन्।
उनी भारत र चीनबाट भ्रणममा विदेश जानेमध्ये एकदमै सानो संख्या मात्र नेपाल आउने गरेको बताउँछिन्।
त्यो संख्या बढाउनका लागि सरकारले पहल गर्नुपर्ने बताउँदै उनी भन्छिन्, ‘नयाँ–नयाँ गन्तव्यहरूलाई राम्रोसँग प्रचारप्रसार गर्नुपर्यो अनि सरकारले पनि निजी क्षेत्रलाई टेवा दिनुपर्यो। यो निजी क्षेत्रको मात्र कुरा होइन सरकारको साथ सहयोग चाहिन्छ।’
सरकारी अधिकारीहरू भने भारत र चीनको आर्थिक वृद्धिको असर नेपालको पर्यटन क्षेत्रमा खासै धेरै नपर्ने दाबी गर्छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भारत र चीनबाट दक्षिणपूर्वी एशियाली मुलुकहरू विशेषगरी थाइल्यान्ड जानेहरूको उद्देश्य र नेपाल घुम्न आउनेको उद्देश्य फरक हुने बताउँछन्।
उनी भन्छन्, ‘थाइल्यान्डलाई जस्तो असर हामीलाई पर्दैन किनकी त्यहाँ मानिसहरू किनमेल गर्न र रमाइलो गर्न जान्छन्। हाम्रोमा चाहिँ धार्मिक, सप्ताहन्त र साहसिक पर्यटनका लागि भारतीय र चिनियाँहरू आउने गर्छन्।’
पर्यटन बोर्डका अनुसार गत वर्ष नेपालमा चीनबाट साढे एक लाख र भारतबाट करिब दुई लाख पर्यटकहरू आएका थिए। यो हवाई मार्गबाट आउने पर्यटकहरूको संख्या हो।
विज्ञहरू चाहिँ भारत र चीनबाट आउने पर्यटकहरू नेपालमा धेरै खर्च गर्ने पर्यटकमध्येमा पर्ने भएकाले सरकारले दुवै देशमा बजारीकरणतर्फ बढी ध्यान दिनुपर्नेमा जोड दिन्छन्। (बीबीसी नेपालीबाट साभार)
Facebook Comment