एनफिल्डमा गोलको वर्षा, पेनाल्टीमा लिभरपुलले मार्यो बाजी
एजेन्सी । प्रिमियर लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।
एनफिल्डमा भएको रोमान्चक खेलमा निर्धारित समय ५–५ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।
पेनाल्टीमा डानियल सेबालोस चुक्दा आर्सनल प्रतियोगिताबाट बाहिरिन पुग्यो । पेनाल्टीमा आर्सनलका लागि हेक्टर बर्लिन,माटियो गुएन्डोजी, गाब्रियल मार्टिनेली र ऐन्स्ले मैट्ल्याण्ड निल्सले गोल गरेका थिए ।
लिभरपुलका लागि पेनाल्टीमा जेम्स मिल्नर, एडम लालना, रिहान ब्रेव्स्टर, डिभोक ओरिगी र कुर्टिस जोन्सले गोल गरेका थिए ।
पेनाल्टीअघि खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४–२ ले अघि रह्यो । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४–३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४–४ को बराबरी बनाउन सफल भयो ।
खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–५ गोलको बराबरीमा फर्काएका थिए ।
Facebook Comment