रियल दोस्रो स्थानमा

डिसी नेपाल
१४ कार्तिक २०७६ ७:१६

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले लेगानेसलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रीगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिकले एक एक गोल गरे ।

सान्टियागो बेर्नाबेउमा एकतर्फी जित निकाल्ने क्रममा रियलले सातौं मिनेटमा रोड्रीगोको गोलबाट अग्रता बनाएको थियो । आठौं मिनेटमा क्रुसले गोल गर्दा रियल २–० ले अघि रह्यो ।

२४ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो ।

६९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जोभिकले गोल गर्दा रियल ५–० ले बिजयी भयो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १ अंकमा घटाएको छ ।

दोस्रो स्थानको रियलले १० खेलमा २१ अंक जोडेको छ । बार्सिलोनाको २२ अंक छ । लेगानेस ५ अंक जोडेर पुछारमा रहेको छ ।

ला लिगा अन्तर्गत अन्य खेलमा भ्यालेन्सिया र सेभियाले १–१ गोलको बराबरी खेल्दा लेभान्टेले रियल सोसीडाडलाई २–१ ले हराएको छ ।

यस्तै एथ्लेटिको बिल्बाओले स्पानियोललाई ३–० ले तथा रियल बेटिसले सेल्टा भिगोलाई २–१ ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *