नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन कार्यक्रमको औपचारिक उद्घाटन

डिसी नेपाल
१४ कार्तिक २०७६ २१:१५

धनुषा। सङ्घीय एवं प्रदेश नं २ सरकारद्वारा संयुक्तरूपमा बिहीबार जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ।

उप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतका व्यक्तित्वद्वारा जनकपुरधामको तिरहुतिया गाछी परिसरमा आयोजित विशेष समारोहमा सो कार्यक्रमको सामूहिक रूपमा शुभारम्भ गरिएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले सभ्यता, संस्कृति, भाषाले समृद्ध प्राचीन, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मिथिला नगरी जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन कार्यक्रमको शुभारम्भ सङ्घीय र प्रदेश सरकारबाट हुनु नेपालका लागि अनुकरणीय दृष्टान्त भएको बताए।

उनले मिथिला नगरी जनकपुरधाम संस्कृति, सभ्यता, कलाले विख्यात रहेको विगतको इतिहासलाई जीवन्त राखी पर्यटकीय आकर्षणको स्थलका रूपमा प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको बताए । मन्त्री यादवले दिनभर संस्कृतिप्रति आरूढ भए पनि साँझ परेपछि सांस्कृतिक विचलनका गतिविधिमा वृद्धि हुनु चिन्ताको विषय भएकाले मिथिला संस्कृतिको पुनःउत्थान र जागरणको आवश्यकतामा जोड दिए।

मिथिलाप्रति संसारकै आकर्षण रहेको परिप्रेक्ष्यमा जनकपुरधामलाई हरित, स्वच्छ र सुन्दर बनाउन जरूरी भएको धारणा पनि उनले व्यक्त गरे। उनले प्रदेश नं २ मा पर्यटन उद्योगको अपार सम्भावना भएको चर्चा गर्दै पर्यटकीय गतिविधिलाई विस्तार गर्न तालीम, होटलको व्यवस्थापन र अतिथिलाई आदर र सत्कार गर्ने मनोविज्ञानमा सुधार अपरिहार्य भइसकेको बताए।

उपप्रधानमन्त्री यादवले नेपाल प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र धार्मिक, सांस्कृतिक विविधताका दृष्टिले महत्वपूर्ण भएकाले यसप्रति संसारलाई आकर्षण गर्ने वातावरण निर्माणमा सबैको अग्रसरता आवश्यक रहेको प्रसङ्ग उल्लेख गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सभ्यता ,संस्कृति र भाषाले समृद्ध मिथिला नगरी जनकपुरधामले सधैँ उन्नयनको सन्देश दिएको इतिहासलाई जीवन्त बनाउन जनकपुरधामबाट नै नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन कार्यक्रमको सङ्घीय र प्रदेश सरकारबाट संयुक्तरूपमा गरिएको बताए।

प्रदेश नंं २ मा सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनको सम्भावना सबैभन्दा बढी भएकाले यस प्रदेशलाई सांस्कृतिक र पर्यटकीय ‘हब’ बनाउन जरूरी भएको धारणा उनले राखे। सांस्कृतिक, पर्यटकीय ‘हब’का रूपमा प्रदेशलाई प्रवद्र्धन गरिएमा रोजगारीमा वृद्धि र लगानीको वातावरण निर्माण हुने चर्चा गर्दै मन्त्री भट्टराईले प्रदेश नं २ मा पाँचतारे होटल निर्माण गर्न व्यवसायी उत्सुक रहेको जानकारी दिए ।

उनले प्रदेशमा भएका धर्मशालाको अवस्था जीर्ण भएकाले यसलाई आधुनिकीकरण, ताल तलैयाको संरक्षण गर्नुपर्ने खाँचो औँल्याए। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य निकट भविष्यमा शुरू गरिने र यसलाई प्रदेश सरकारसँग हातोमालो गरी पूर्णता दिने बताउँदै प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल एशियाको ‘हब’ हुने उनले बताए।

सङ्घीयता झगडा गर्नका लागि नभएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रदेश सरकारसँग हातेमालो गरी अघि बढने उनले बताए। मन्त्री भट्टराईले जनकपुरधाम सभ्य र सुसंस्कृत बस्दै आएको कुरालाई सिद्ध गर्न ७ बजे बन्द हुने अवस्थाको अन्त्य गरी राति १ बजेसम्म खुल्ला रहने व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने वातावरण निर्माणमा जोड दिए।

प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, भ्रमण वर्षका प्रदेश संयोजक मनिष झाले प्रदेश नं २ मा जीवनको नजिक हुने पर्यटकीय सम्पदा, केन्द्र भएको उदाहरण प्रस्तुत गरे।

सो कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका कलाकारद्वारा सांस्कृतिक नृत्य एवं गायन पनि प्रस्तुत गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *