नारायणी महोत्सवको तयारी पुरा, आज दिउँसो २ बजे उद्घाटन हुने

डिसी नेपाल
१५ कार्तिक २०७६ ७:५५

चितवन । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘नारायणी महोत्सव २०७६’ को तयारी पुरा भएको छ ।

कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सव आज (शुक्रबार) संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्दैछन् ।

महोत्सवको उद्घाटन आज (शुक्रबार) दिउँसो २ बजे गरिने आयोजक रेविका बाल प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन अगाडि नारायणगढको पुलचोकबाट बिहान ११ बजे विभिन्न जाति तथा समुदाय विशेषको झाँकीसहितको शोभायात्रा निकालिने संस्थाका व्यवस्थापक रोशन राजकर्णिकारले बताए ।

भरतपुरमा २ क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले आयोजना गरेको सो महोत्सवबाट भएको आम्दानी अपाङ्गता भएका बालबालिकाहरुका लागि खर्च गरिने उनले बताए । नारायणी नदी किनारमा हुने महोत्सवमा विभिन्न तीन सय वटा व्यवसायिक स्टलहरु रहने राजकर्णिकारको भनाइ छ ।

महोत्सवलाई थप आकर्षण बनाउनका लागि बद्रि पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आलो, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए ।

एक करोड रुपैयाँ आम्दानी गर्ने उद्धेश्यसहित सञ्चालन गर्न लागिएको महोत्सवमा करिब ८० लाख रुपैयाँ खर्च हुने रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत आज बद्री पंगेनीको प्रस्तुती रहनेछ भने विभिन्न सांस्कृतिक कार्यक्रम सहित लोक दोहोरी प्रतिष्ठान चितवनको विशेष प्रस्तुती रहने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *