मालीको सैन्य कार्यालयमा आक्रमण, ५३ सैनिकको मृत्यु
बामाको (रासस÷एएफपी) । मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूले गराएको हिंसामध्ये यो पछिल्ला हिंसामध्येको ठूलो भएको पनि अधिकारीको भनाइ छ ।
आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चारमन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् । “अहिले अवस्था नियन्त्रणमै छ, शव सङ्कलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उनले लेखेका छन् । आक्रमण र क्षतीको पूर्णविवरण भने आइनसकेको उनले बताए ।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको अधिकारीले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदा आवद्ध जिहादीको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादी विरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुनसकेको छैन ।
Facebook Comment