कास्की–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई

डिसी नेपाल
१६ कार्तिक २०७६ २१:२७

काठमाडौं। सत्तारुढ दल नेकपाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की–२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराईलाई उम्मेदवार बनाउने निर्णय शनिबार बसेको सचिवालय बैठकले गरेको भए पनि औपचारिक घोषणा भने आइतबारमात्र गरिने नेकपाले जनाएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार पार्टीले औपचारिक उम्मेदवार घोषणा गर्ने जानकारी दिएका थिए। तर, उच्च स्रोतका अनुसार भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भने शनिबार नै भइसकेको छ।

कास्की–२ बाट तत्कालीन एमालेबाट विजयी बनेर पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीको गत चैतमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त थियो। नेकपाले सो क्षेत्रीमा दिवंगत नेता अधिकारीकी श्रीमती भट्टराईलाई नै उम्मेदवार बनाएको हो।

नेकपा कास्कीले भट्टराईको एकल नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरे पनि प्रदेश कमिटिले भने सोमनाथ प्यासी र राज गुरुङको नाम थपेर तीन जनाको नाम सम्भावित उम्मेदवारका रुपमा सिफारिस गरेको थियो। सचिवालयले सर्वसम्मत रुपमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए।

कास्की–२ प्रतिनिधिसभाका लागि उप निर्वाचन हुने देशको एकमात्र क्षेत्र भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ। यहाँबाट साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली काँग्रेसले आइतबार उम्मेदवार टुंगो लगाउने जनाएको छ। यो क्षेत्रबाट अधिकारी तीन पटक एमालेको उम्मेवारका रुपमा विजयी भएका थिए।

२०७४ को आमनिर्वाचनमा अधिकारी २७ हजार २ सय ७ मत प्राप्त गरेर विजयी भएकाले थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। कास्कीमा मुख्यतः नेकपा र काँग्रेसकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिए पनि साझा पार्टीबाट उम्मेदवार बनेकी रजनीले कास्कीको प्रतिस्पर्धालाई त्रिपक्षीय बनाउने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *