राष्ट्रिय नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरु, १२ देशका चलचित्र प्रदर्शन गरिने

डिसी नेपाल
१७ कार्तिक २०७६ ११:२४

काठमाडौं। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरु भएको छ। यो महोत्सव आउँदो सोमबारसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म नाचघरमै चल्नेछ।

महोत्सवको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शनिबार उद्घाटन गरे। विगत ८ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन–प्रदानमा ठूलो योगदान पुर्याउँदै आएको मन्त्री पोखरेलले बताए। अफ्रिकालाई नेपालसँग जोड्ने पुलको रुपमा यो महोत्सव विकसित हुँदै आएको पनि मन्त्री पाखेरेलले कार्यक्रममा बताए। हामीले नेपाली मौलिक सिनेमा र सँस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने सुझाब मन्त्रीले दिए । चाँडै नयाँ शिक्षा नीति आउने जानकारी गराउँदै अबको शिक्षा नीतिले शिक्षामा देखिएका पुराना धेरै समस्यालाई हल गर्ने पनि मन्त्री पोखरेलले बताए।

आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)की अध्यक्ष एवम् महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले आफूहरुले आम सञ्चार सम्बन्धि शिक्षा सेवा दिनुका साथै नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउँन र सिनेमा संस्कृति आदन प्रदानको लागि ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ आयोजना गर्दै आएको बताइन्। उनले आमसञ्चारसम्बन्धि विश्व विद्यालय स्थापनाको लागि मन्त्री पोखरेलसँग आह्वान पनि गरिन्।

यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डले महोत्सव आयोजना गर्न नसकेको बेला सिजेएमसीजस्ता संस्थाबाट यस्तो अन्तराष्ट्रिय चलचित्र महोत्सव हुनु सुःखद कुरा भएको बताए। चाँडै राष्ट्रिय चलचित्र ऐन आउने र ऐनबाट चलचित्रको विकासमा टेवा पुग्ने उनको भनाई थियो।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्माले यस्ता महोत्सवबाट चलचित्रकर्मीहरुले कसरी राम्रा सिनेमा बनाउने भन्ने जानकारी पाउने बताए। उनले नेपालका लोक नृत्यलाई सांस्कृतिक संस्थानले स्कूल–स्कूलमा पुर्याउने भएकाले त्यो वातावरण बनाईदिन शिक्षा मन्त्रीसँग अनुरोध गरे।

यस्तै नेपालका लागि इजिप्टकी राजदुत इम्यान मोस्ताफा, रुवान्डाका फिल्म फेस्टिवल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्री, अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असद, चिनियाँ चलचित्र निर्देशक डा. योङलगायतले पनि नेपाल आएर महोत्सबमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।

महोत्सव निर्देशक डब्बु क्षत्रीले यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म रहेको बताए। महोत्सवमा प्रवेश निशुल्क गरिएको पनि क्षत्रीले जानकारी गराए।

महोत्सवको उद्घाटन समारोहमा सांस्कृतिक संस्थानका विभिन्न कलाकारले विभिन्न नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका थिए।

महोत्सबमा शनिबार नाईजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, नेपाल पर्यटन बोर्डको नेपाल ल्यान्ड अफ डाईभर्सिटी, केन्याको न्यु मुन र घानाको द बुरिएल अफ कोजो फिल्म प्रदर्शन गरियो। बाँकी १९ ओटा फिल्म आईतबार र सोमबार प्रदर्शन गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *